पर्वत/ जिल्लाको मोदी गाउँपालिकाले हालै सार्वजनिक एसईई परीक्षामा ‘नन ग्रेड’ मा परेका विद्यार्थीलाई निःशुल्क रूपमा परीक्षाको तयारी गराउने भएको छ । गाउँपालिकाका शिक्षा अधिकृत दिनेश शर्माका अनुसार २०८२ को परीक्षामा सहभागी भई श्रेणीविहीन भएका विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको हो । गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरूबाट एसइईमा सहभागी भई श्रेणीविहीन भएका विद्यार्थीलाई आगामी परीक्षाको तयारीमा सहयोग पु¥याउने उद्देश्यले उक्त कक्षा सञ्चालन गर्न लागिएको हो ।

विद्यार्थीलाई समयमै जानकारी गराई आवश्यक व्यवस्थापनमा सहजीकरण गर्न अनुरोध गरिएको छ । कक्षा सञ्चालन सम्बन्धी विवरण अनुसार कक्षा २०८३ जेठ ७ गते बुधवारदेखि सुरु हुनेछ । कक्षा सञ्चालन हुने स्थान नवजागृत बहुमुखी क्याम्पस रहेको छ भने बिहान ७ बजेदेखि ११ बजेसम्म कक्षा सञ्चालन गरिने जनाइएको छ । कक्षामा सबै विषय समावेश गरिनेछन् ।
‘कक्षा व्यवस्थापनको काम स्थानीय नवजागृत बहुमुखी क्याम्पसमा गर्ने तयारी गरेका छौँ । अन्य व्यवस्थापनको काम गाउँपालिकाले गरिरहेको छ । रेगुलर परीक्षामा नै ७४ प्रतिशत उत्तीर्ण भएका छन्’, शिक्षा अधिकृत शर्माले भने, ‘नन ग्रेडमा रहेका थोरै विद्यार्थीहरूलाई पनि विशेष तयारी कक्षा सञ्चालन गर्न सकियो भने उनीहरूको उपलब्धि पनि राम्रो हुन्छ भन्ने लागेको छ । विद्यार्थी सङ्ख्या, भौगोलिक कठिनाइ, घरको आर्थिक अवस्थाका कारण पनि विद्यार्थीले चाहेर पनि तयारी कक्षामा जोडिन नपाएको अवस्थामा यसले विशेष सहयोग पुग्ने विश्वास लिएका छौँ ।’
गाउँपालिकाभरका १२ ओटा विद्यालयका २ सय ६१ जनाले परीक्षा दिएकोमा ६९ जना विद्यार्थीहरू ‘नन ग्रेड’ मा परेका छन् । सहभागीमध्ये १ सय ९२ जना ‘ग्रेडेड’ हुँदा उत्तीर्ण भएका विद्यार्थीहरूको सङ्ख्या झन्डै ७४ प्रतिशत रहेको छ । शिक्षा अधिकृत शर्माका अनुसार पालिकाभरमा सबैभन्दा बढी देउपुर नमुना माध्यमिक विद्यालयका ९५ प्रतिशत विद्यार्थी ‘ग्रेड’ मा परेका छन् भने सबैभन्दा कम नवज्योति थम मा.वि.का ४१ प्रतिशत विद्यार्थी मात्रै ‘ग्रेड’ मा परेका छन् ।
स्थानीय तहभरमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यार्थी देउपुर नमुना मा.वि.की छात्रा सिम्रन बस्नेत र छात्र नैतिक राई रहेका छन् । उनीहरूले ३.९१ जिपिए प्राप्त गरेका छन् ।
स्थानीय तहभरमा ३.६ देखि ४ जिपिए सम्मको समूहमा १६ जना, ३.२ देखि ३.६ सम्मको जिपिएमा ५४ जना, २.८ देखि ३.२ सम्मको जिपिएमा ७२ जना, २.४ देखि २.८ सम्मको जिपिएमा ४३ जना र २ देखि २.४ जिपिएमा ७ जना विद्यार्थीहरू उत्तीर्ण भएका छन् ।
यस अघि जिल्लाकै महाशिला गाउँपालिकाले पनि ‘ग्रेड’ वृद्धि गर्नुपर्ने विद्यार्थीहरूको लागि आवासीय प्रबन्ध सहित निःशुल्क रूपमा कक्षा सञ्चालन गरिसकेको छ । ‘ग्रेड’ वृद्धि गर्नुपर्ने विद्यार्थीहरूको लागि गाउँ कार्यपालिकाले निर्णय गरेअनुसार उक्त कक्षा आवासीय सुविधासहित कक्षा सञ्चालन गरिएको हो । जेठ ३ गतेदेखि जेठ ३० गतेसम्म सञ्चालन हुने विशेष कक्षाहरू महाशिला गाउँपालिका–१ होश्राङ्दीमा रहेको सूर्य माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको छ ।






