पर्वत/महाशिला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एस.इ.ई) मा अपेक्षित नतिजा हासिल गर्न नसकेका विद्यार्थीहरूलाई लक्षित गर्दै निःशुल्क ग्रेड वृद्धि तयारी कक्षा सञ्चालन गर्ने भएको छ । हालै प्रकाशन भएको नतिजालाई ध्यानमा राखेर गाउँपालिकाले पूर्ण आवासीय सुविधासहित तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बरालले बताए । ‘ग्रेड’ वृद्धि गर्नुपर्ने विद्यार्थीहरूको लागि गाउँ कार्यपालिकाले निर्णय गरेअनुसार उक्त कक्षा आवासीय सुविधासहित कक्षा सञ्चालन गर्ने तयारी थालिएको हो ।
जेठ ३ गतेदेखि जेठ ३० गतेसम्म सञ्चालन हुने विशेष कक्षाहरू महाशिला गाउँपालिका–१ होश्राङ्दीमा रहेको सूर्य माध्यमिक विद्यालयमा सञ्चालन गर्ने तयारी छ । यस कार्यक्रमले आर्थिक तथा शैक्षिक कारणले थप तयारी गर्न नसक्ने विद्यार्थीहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बरालले बताए ।
आवासीय सहितको कक्षा सञ्चालन हुने सूर्य माविका प्रधानाध्यापक नवराज भुसालले ‘नन ग्रेड’ मा रहेका विद्यार्थीहरूको लागि सबै विद्यालयमा यसरी व्यवस्थापन गर्न नसकिने भएकोले अगुवा विद्यालयका रूपमा आफूहरू यसका लागि तयार भएको बताए । एक महिनाभित्रमा परीक्षाको राम्रो तयारी गर्नुपर्ने भए पनि घरको अवस्था, भौगोलिक अवस्था, विद्यालयमा न्यून विद्यार्थी दरका कारण एकै ठाउँमा कक्षा सञ्चालन गर्ने आफूहरूको प्रस्तावमा स्थानीय तह तयार भएपछि यो अभ्यास गर्न लागिएको उनको भनाइ छ ।
‘यसको सबै व्यवस्थापन पालिकाबाट नै हुन्छ । खाने खर्च, पढाउने शुल्क, २ जना वार्डेन, २ जना भान्से, सबैको खर्च पालिकाबाट एकमुष्ट रूपमा आउँछ । विद्यार्थी र शिक्षक र कर्मचारीहरूलाई बस्नको लागि बेड बिस्तारा समेत पालिकाले नै खरिद गर्ने हो,’ उनले भने, ‘विषयगत जिम्मेवारी र रेखदेख भने सूर्य माविले नै गर्छ। यसका लागि बढीमा ३ लाख रुपैयाँ खर्च हुन्छ ।’
गाउँपालिकाका प्राधानाध्यापकहरुको बैठकमा ‘नन ग्रेडेड’ विद्यार्थीको विषयमा छलफल हुँदा विगतदेखि उत्कृष्ट नतिजा निकाल्दै आएको सूर्य मा.वि.ले मुख्य भूमिका निर्वाह गर्ने गरी कक्षा सञ्चालन गर्ने सहमति भएको थियो । अघिल्लो वर्ष गाउँपालिकाका ७ ओटा विद्यालयमा यसरी नै आवासीय रूपमा कक्षा सञ्चालन गर्ने गरेकोमा यस पटक भने एउटै केन्द्र बनाएर कक्षा सञ्चालन गर्न लागिएको हो ।
८ वटा माध्यमिक तहका विद्यालयहरू रहेको महाशिला गाउँपालिकाबाट एसइई परीक्षामा ६४ जना विद्यार्थीहरू सहभागी भएका थिए । उनीहरूमध्येका ६४ प्रतिशत अर्थात् ४१ जना ‘ग्रेडेड’ भएका छन् भने बाँकी २३ जना ‘नन ग्रेडेड’ भएका छन् । होश्राङ्दीको सूर्य मा.वि.का १० जनामध्ये ८ जना, भोक्सिङको महेन्द्रोदय मा.वि.का ४ जनामध्ये ३ जना, बालाकोटको बालरानी मा.वि.का ९ जनामध्ये ३ जना, लाम्तुनको जनविकास माविका ९ जनामध्ये ७ जना ‘ग्रेडेड’ भएका छन् । यस्तै पाखापानीको स्वधर्म माविका १० जनामध्ये ८ जना, सिम्लेको विश्वज्योति माविका ५ जनामध्ये ३ जना, लुंखुको महेन्द्रज्योति माविका १३ जनामध्ये ६ जना र फलामखानीको मदनआश्रित माविका ४ जनामध्ये ३ जना ‘ग्रेड’ मा परेका छन् ।
‘ग्रेडेड’ प्रतिशतका आधारमा सबैभन्दा बढी सूर्य मावि र स्वधर्म माविका ८० प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ हुँदा सबैभन्दा कम बालरानी माविका ३३ प्रतिशत विद्यार्थी मात्रै ‘ग्रेड’ मा परेका छन् ।





