पर्या पर्यटन देखि होमस्टे पर्यटनको प्रवर्द्धन गर्न पर्वतका पत्रकारले गरे दुईदिने पदयात्रा

पर्वत/जिल्लाको पर्या पर्यटन देखि होमस्टे पर्यटनको प्रवर्द्धन गर्नका लागि नेपाल पत्रकार महासंघ पर्वतको नेतृत्वमा पर्वतका क्रियाशिल पत्रकारहरुको टोलीले दुईदिने पदयात्रा सम्पन्न गरेको छ । पदयात्रामा पर्वतमा क्रियाशिल १६ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

जलजला गाउँपालिका र मोदीगाउँपालिकाको सिमानमा रहेको जलजला क्षेत्रवाट शुरु गरिएको पद यात्रा हम्पालको लेक कालान्जार , माटेको लेक, डाडाकमेरे , भमरकोट, पर्यटकिय गाउँ भुकदेराली , लप्सिवोट, डिमुवा हुदै मोदीगाउँपालिका पर्यटकीय गाउँ चित्रे पुगेर समापन भएको थियो ।

पर्वतको सबैभन्दा उचाईमा रहेको हम्पाल क्षेत्र समुद्री सतहबाट ३ हजार ३ सय ९ मटिरको उचाईमा रहेको छ । पर्वतका शालिजा, लेकफाँट, क्याङ क्षेत्रमा पर्ने हम्पाल खासगरी सयौं थरीका जडीबुटी, लोपोन्मुख वनस्पती र वन्यजन्तु रहेका छन् । लालीगुँरासको पहाडका नामले परचिति यो क्षेत्रमा हम्पाल डाँडा, जलजला, माटेपानी ,फलाटे रहेका छन्‌। यहाँबाट सूर्योदय र सूर्यास्तको सहज रूपमा अवलोकन गर्न सकन्छि । हम्पाल लेकबाट पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङ लगायतका जिल्लाको अवलोकन गर्न सकिने जलजला गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले जानकारी दिनुभयो ।

पर्वतको मोदी गाउँपालिकाको ताङ्ले–भमरकोट–डाँडाकमेरे–माटे–हम्पाल पदमार्ग निर्माण भएपछि जलजलाको कालाञ्जरसम्म नै सहज रूपमा पर्यटक यात्रा गर्नसक्ने पर्यटन व्यवसायी टीका पुनले जानकारी दिनुभयो ।

नयाँपुलदेखि पर्वतको मोदी र जलजला गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने नयाँ पदमार्ग तयार भएपछि पछिल्लो समय पर्यटकको आकर्षण बढ्दै गएको छ । माटेको लेकबाट जलजलासम्म पदमार्ग नहुँदा पर्यटक घाँसेभिर र झाँडीको बाटो पार गर्दै कष्टपूर्ण यात्रा गर्न बाध्य भएकामा अहिले सहज रूपमा यात्रा गर्न थालेको पर्यटन व्यवसायी पुनले बताउनुभयो ।

पदमार्ग सहज भएसँगै अहिले हम्पाल र जलजला क्षेत्रमा लालीगुँरास हेर्न र टिप्न जानेको घुइँचो लागेको छ । जलजलामै होटल सञ्चालन गर्दै आएका पुनले दैनिकजसो होटल बुकिङ हुन थालेको बताए । हम्पाल र जलजला क्षेत्रमा विभिन्न रङका १२ थरि लालीगुँरास पाइने गर्छन् ।

फागुनदेखि जेठसम्म लालीगुँरास रहने भएकाले यो सिजनमा यहाँ पर्यटकको सहभागिता उल्लेख्य मात्रामा बढेको पुनले जानकारी दिनुभयो । पदमार्ग सहज भएपछि आन्तरिक मात्र नभएर विदेशी पर्यटकको उल्लेख्य सहभागिता हुने गरेको छ ।

विगत १३ वर्षअघि पहिचान भएको नयाँपुल–मोहरिया–ताङले–भमरकोट–फलाटे–डाँडाकेटेरी–थामाकोडिल–हम्पाल–जलजला–कोखेडाँडा–मोहरेडाँडा–फूलबारी–पुनहिल हुँदै घोडेपानी जोड्ने पदमार्ग सञ्चालनमा आए पनि हम्पाल क्षेत्रमा व्यवस्थित पदमार्ग निर्माणकार्य बल्ल सुरु भएको होटल व्यवसायी पुनले बताए ।पदमार्ग निर्माण भएपछि राति वा दिउँसो जुनसुकै समयमा पनि पदयात्रा गर्न सहज हुने उहाँको भनाई छ ।

विश्वकै दश उत्कृष्ट पदमार्गमा सूचीकृत अन्नपूर्ण चक्रीय पदमार्गको वैकल्पिक गन्तव्यका रूपमा विकास भएको ताङ्ले–भमरकोट–डाँडाकमेरे–माटे–जलजला–मोहोरेडाँडा–कोखेडाँडा–घोडेपानी जोड्ने पदमार्गअन्तर्गत माटेको लेकबाट जलजलासम्मको पदमार्ग निर्माणले पूर्णता पाएको र यो पदमार्गले धेरै पर्यटकहरूलाई आकर्षित गर्ने मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिनुभयो ।