पुस ९ गतेदेखि १९ गतेसम्म पर्वतमा आठौँ पर्वत महोत्सव आयोजना गरिँदै

पर्वत/समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि पर्वतमा आठौँ पर्वत महोत्सव आयोजना गरिएको छ । स्थानीय उत्पादन, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पुस ९ गतेदेखि १९ गतेसम्म महोत्सव आयोजना गरिएको हो ।

पर्वत उद्योग बाणिज्य संघको शुक्रवार सम्पन्न बैठकले महोत्सव गर्ने निर्णय गरेको महासचिब खड्गप्रसाद खनालले जानकारी दिनुभयो । समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन, पर्वत जिल्लाका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको प्रचार प्रसार, पर्वत जिल्लामा उत्पादित बस्तुहरुको प्रवद्र्धन र प्रचार प्रसार, लोक संस्कृतिको संरक्षण र सम्वद्र्धन, स्थानीय उत्पादन, उद्योग, व्यापार र व्यावसायको विस्तार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने महोत्सवको उद्धेश्य रहेको छ ।

महोत्सवमा विश्वकै दोस्रो अग्लो बञ्जिजम्प, नेपालकै लामो जीपलाईन, कालीगण्डकी नदिमा र्‍याफ्‌टीङ, हेलीकप्टरवाट पर्वतका पर्यटकीय स्थलहरुको दृश्यावलोकन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुल, कुश्मा बलेवा यान्त्रिक पुल, गुप्तेश्वर र अलपेश्वर गुफाको अबलोकन, अल्लोको कपडा, लोक्ताको नेपाली कागज, सुन्तलाको जुस, मह, जडिवुटी, अदुवा र लप्सीका परिकारहरुको प्रदर्शनी मुख्य आकर्षण रहेका छन् । त्यस्तै झाँकी प्रर्दशनी तथा जिल्ला स्थित विभिन्न जनजातिहरुका फरक फरक साँस्कृति कार्यक्रम, गण्डकी प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगिता, विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, छेलो प्रतियोगिता, खुल्ला दौड, राष्ट्रिय खानाका परिकार, स्थानीय उत्पादनहरुको विक्रि तथा औद्योगिक प्रदर्शनी, शैक्षिक, कृषि र फोटो प्रदर्शनी समेत गरिने भएको छ ।

त्यस्तै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था, पनि गरिने भएको छ ।
महोत्सव आउन डेढ महिना बाँकी रहँदा विभिन्न तयारीहरु थालिएको छ । अहिले पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवका लागि जिल्लाका सातवटै स्थानीय तह आयोजकको रुपमा रहने भएका छन् । संघको वैठकले महोत्सवको तयारीका लागि विभिन्न उपसमितिहरु निर्माण गरी जिम्मेवारी समेत तोकिसकेको मुल संयोजक ठाकुरवि पौडेलले जानकारी दिनुभयो