संस्कृति संरक्षण गर्न कुश्माको शताब्दी घरमा अब हरेक शुक्रबार भजन कीर्तन

पर्वत /कुश्मा नगरको ऐतिहासिक गौरव र मौलिक सांस्कृतिक चिन्तनलाई नवनिर्माणको धारामा प्रवाहित गर्ने उद्देश्यले स्थापित ‘शताब्दी घर’ मा अब ‘भजन–कीर्तन साँझ’ को अभियान सुरु भएको छ। नेपालको मौलिक कला, गला र बाजाको सहभागितामा गाइने ‘भजन’ लाई जगाइराख्न तथा पछिल्लो पुस्तामा भजन कला हस्तान्तरण गर्नको लागि कुश्मा बजारमा रहेको ऐतिहासिक ‘शताब्दी घर’ मा हरेक हप्ताको साँझमा भजन गाउने गरी अभियान सुरु भएको छ। यसको उद्देश्य यो अभ्यासलाई हरेक गाउँसम्म लगेर पाको पुस्ताबाट पछिल्लो पुस्तामा ‘भजन’ सीप हस्तान्तरण गर्नु रहेको छ।

कार्यक्रमका परिकल्पनाकार आर.के अदिप्त गिरीले गाउँ गाउँमा रहेका हरेक ज्येष्ठ नागरिकमा रहेका कला र ज्ञान पछिल्लो पुस्तामा स्थानान्तरण गर्नको लागि पनि उनीहरूलाई जम्काभेट हुने वातावरणको आवश्यकता रहेको बताउँछन्। भजन गाउने बेलामा गीत मात्रै नभएर अन्य ज्ञानका कुराहरू पनि बालबालिका तथा युवाहरूमा ज्येष्ठ नागरिकबाट सार्न सकिने उनले बताए।

‘संस्कृति आफैँले कहिल्यै गरिब–धनीको भेद गर्दैन, तर त्यसलाई व्यवहारमा उतार्नेहरूले त्यसको गहिराइ बुझ्नुपर्छ। संस्कृति भनेको सुधारिएको संस्कारलाई समाजले आत्मसात् गर्दै अग्रसर हुने चेतनाको दीप हो। रीतिथिति र परम्पराको मर्मलाई हृदयमा बोक्नुपर्छ’, उनले भने, ‘व्यवहारिक अभ्यासमा नआएको संस्कृति यत्तिकै मर्छ। व्यवहारमै उतार्दा मात्र त्यो बाँच्ने शक्ति पाउँछ। यही सोचले हामीलाई ‘भजन–कीर्तन साँझ’ आयोजना गर्न प्रेरित गरेको हो।’

पर्वत युवा सञ्जालका ‘भजन मण्डली’ संयोजक वसन्त बास्तोलाले ‘कला र संस्कृतिबिनाको सहर आत्माविनाको शरीर’ जस्तै हुने भन्दै वैदिक परम्परासँग गाँसिएको भजन संस्कृति नेपालीको मौलिक पहिचान भएको बताए। त्यसको संरक्षण र पुनर्जीवन गर्ने जिम्मेवारी युवाहरूकै भएकोले पनि आफूहरूले शताब्दी घरलाई जमघटको थलो बनाएको उनको भनाइ छ।

करिब तीन सय वर्ष पुरानो बार्दली सहितको ‘शताब्दी घर’ इँटा र काठको वास्तुकला मात्र नभएर पहाडी जीवनशैली, इतिहास र अध्यात्मको सौन्दर्य पनि बनिरहेको छ। अध्ययन, अवलोकन र अनुसन्धानका लागि एक सङ्ग्रहालयको रूपमा समेत उक्त घरलाई विकास गर्ने प्रयास भइरहेको छ।