पैयुँ गाउँपालिकामा चारसय ५० टन धान नष्ट, तीसलाख राहत बाँड्दै पालिका

पर्वत/गत हप्ताको अविरल वर्षा र हावाहुरीले धान बालीमा क्षति पुर्‍याएपछि पैयुँ गाउँपालिकाले प्रभावित कृषकलाई राहत वितरण गर्ने भएको छ । गाउँपालिकाले करिब २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने तयारी गरेको हो । गाउँपालिकाको वडा नं। ५ का वडाध्यक्ष निर्भीक नारायण भुर्तेलका अनुसार कात्तिक ११ देखि १३ गतेसम्म भएको वर्षा र हावाहुरीका कारण धान बालीमा ठूलो क्षति भएपछि कृषकहरूले राहतका लागि गाउँपालिका र वडा कार्यालयमा निवेदन दिएका थिए । सोही अनुरोधका आधारमा कार्यपालिकाको बैठकले क्षतिको मूल्याङ्कन गरी राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

गाउँपालिकाको कार्यालयले कात्तिक १४ गतेदेखि नै कर्मचारी र जनप्रतिनिधिहरूको टोली खटाएर सबै वडामा स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा गाउँपालिकाभरका ७ सय परिवारको करिब १ हजार ५ सय रोपनी खेतमा लगाइएको धान बालीमा क्षति पुगेको पाइएको छ । उक्त क्षेत्रफलमा करिब ४५० टन धान नष्ट भएको विवरणमा उल्लेख छ । कार्यपालिकाको निर्णयअनुसार, न्यूनतम एक रोपनी क्षेत्रफलमा धान क्षति भएका किसानलाई २ हजार रुपैयाँ, र त्यसपछि थप प्रत्येक रोपनीका लागि १ हजार ५ सय रुपैयाँका दरले राहत वितरण गरिनेछ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेका अनुसार, कुल क्षेत्रफल र प्रमाणित तथ्यहरू सङ्कलन भएपछि मात्रै अन्तिम खर्च रकम यकिन हुनेछ । उनले भने, “हालको अनुमानअनुसार करिब १५ सय रोपनी धान क्षति भएकाले चभष्भिा रकम करिब तीस लाख लाख रुपैयाँ पुग्ने देखिन्छ।” यसैबीच, गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले किसानको पीडा बुझ्दै राहत वितरण कार्य पारदर्शी र निष्पक्ष ढङ्गले सम्पन्न हुने बताएका छन् । उनले भने, “वर्षा र हावाहुरीले मेहनती किसानको वर्षभरको परिश्रम मेटिएको छ । गाउँपालिकाले क्षतिको सही मूल्याङ्कनका आधारमा राहत उपलब्ध गराउनेछ । यसले किसानलाई केही हदसम्म राहत मिलोस् भन्ने हाम्रो उद्देश्य हो।”

पर्वतका अन्य स्थानहरूमा पनि भित्र्याउने बेलामा परेको वर्षाले धान बालीमा असर पुर्‍याएको छ । कतिपय क्षेत्रमा काटिएको धान भिजेपछि गुणस्तरमा ह्रास आएको र पराल समेत नोक्सान भएको किसानहरूले बताएका छन् । कृषि ज्ञान केन्द्र पर्वतकी बाली संरक्षण अधिकृत सुवेदीका अनुसार, ठाडो अवस्थामा रहेको धानमा सामान्य असर देखिए पनि पाकेको धानमा वर्षा र हावाले झर्ने समस्या देखिएको छ ।