पुष्पलाल मध्यपहाडी राजमार्गको सुन्दरेखोलामा ‘आर्क ब्रिज’बन्दै

पर्वत/पुष्पलाल मध्यपहाडी राजमार्गको पर्वत खण्डमा पर्ने सुन्दरेखोलामा मोटरेबल पुल बनिरहेको छ । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा पर्ने सुन्दरेखोलामा पहिलोपटक ‘आर्क ब्रिज’ (मुग्लिङमा बनेको नयाँ पुल जस्तै) निर्माण भइरहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनियर कल्पना मिश्रले बताइन् ।

मिश्रका अनुसार ८० मिटर लामो, ११ मिटर चौडाइको र २ स्पान रहेको पुलको खोलाको दुवै किनारतर्फ पिल्लर उठाउने काम भइरहेको छ । पुल निर्माणका लागि २०७९ भदौ २८ गते लुम्बिनी÷प्राकृतिक जेभी काठमाडौँसँग सम्झौता भएको थियो । यो निर्माण कम्पनीसँग पर्वत र बागलुङको गरी एकैपटक पाँच पुल निर्माणका लागि सम्झौता भएको भएपनि हालसम्म बागलुङको काठेखोलामा मात्र पुल निर्माण सम्पन्न भएको छ । दोस्रो पुल निर्माण सुन्दरेखोलामा सुरु भएर काम भइरहेको हो ।

३ वर्षमा पुल निर्माण सम्पन्न गर्ने गरी ९ करोड ५० लाख रुपैयाँमा सम्झौता भएको भएपनि समयमै काम नसकिएपछि निर्माण कम्पनीले थप २ वर्षको लागि म्याद थपको प्रस्ताव गरेको छ । निर्माण कम्पनीको प्रस्ताव अनुसार म्याद थपको लागि आयोजनाले प्रक्रिया अघि बढाएको छ ।

समग्रमा अहिलेसम्म २२ प्रतिशत भौतिक र २० प्रतिशत वित्तीय प्रगति भएको छ । उक्त खोलामा पुल नहुँदा वर्षा याममा बाढी र पहिरोले राजमार्ग नै अवरुद्ध हुँदै आएको छ । केहीले ज्यान समेत गुमाएका छन् । हिउँद याममा सहज रूपमा यातायात सञ्चालन हुने भएपनि वर्षा याममा भने जोखिमपूर्ण यात्रा गर्न बाध्य भएपछि आयोजनाले पुल बनाउन लागेको हो । सडकहुँदै बागलुङ, म्याग्दी, मुस्ताङका साथै रुकुमका लागि सवारीसाधन आवतजावत गर्दछन् ।

अत्यधिक संख्यामा र उच्च भारवहन क्षमताका सवारीसाधन सो राजमार्गमा सञ्चालन हुने भएकाले आर्क प्रविधिको पुल निर्माण गर्न लागिएको हो । यो पुल अन्य मोटरेबलभन्दा बलियो, टिकाउ उच्च भारवहन क्षमताका साथै कम मात्रामा मर्मत गरे हुने खालको रहेको प्राविधिकको भनाई छ ।

यो संगै राजमार्गको पर्वत खण्डमा अझै तीन पुल निर्माणको काम बाँकी छ । मोदी गाउँपालिकाको पातीखोलामा २ वटा र मोदीखोलामा एउटा पुल निर्माण गर्न लागिएको छ । मोदीखोलाको पुलको डिजाइन स्विकृत भइसकेको र पातीखोलाको डिजाइन स्विकृतिको प्रक्रिया अन्तिम चरणमा पुगेको इन्जिनियर मिश्रले बताइन् । पातीखोलामा हालको पुल साँघुरो र कमजोर समेत रहेको भन्दै सोही पुलको दायाँवायाँ दुवैतर्फ पुल बनाउन लागिएको हो । दुवै पुल आर्क नै रहनेछन् । ती पुलको ठेक्का पनि लुम्बिनी÷प्राकृतिक जेभीले नै लिएको छ । आयोजनाका अनुसार मोदीखोलामा ६२ मिटर र पातीखोलामा ५२–५२ मिटर लामो पुल निर्माण हुनेछन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–कुश्मा सडकको ३ वर्ष पहिला नै दुई लेनको सडक स्तरोन्नति भइसकेको छ । सडक दुई लेनको बने पनि पुरानो संरचनामा बनेका सिङ्गल लेनका पुलले सवारीको चाप धान्न गाह्रो भएकाले नयाँ पुल थप्न लागिएको हो ।