पर्वत/जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरी गाउँसभाबाट पारित गरेको छ । बुधबार पर्वत बेनी स्थित ज्ञानगौरी रिसोर्टमा सम्पन्न भएको गाउँसभाको १७ औं गाउँ अधिवेशनमा गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले बजेट प्रस्तुत गर्नुभएको थियो । गाउँसभामा पालिका उपाध्यक्ष आचार्यले ५० करोड ४ लाख १३ हजार रुपियाँ बराबारको बजेट सार्वजनिक गर्नुभयो । बजेटमा संघ/प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण/ विशेष अनुदान,सर्सत अनुदान,राजश्व बाँडफाँड र पालिकाको आन्तरिक आयलाई समावेश गरिएको उपाध्यक्ष आचार्यले बताउनभुयो ।
बजेटमा संघीय सरकारको ४३ करोड १९ लाख तीनहजार,प्रदेश सरकारको दुई करोड ८२ लाख ७२ हजार,आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने चार करोड दुईलाख ३८ हजार रुपियाँलाई बजेटको स्रोत मानिएको छ । प्रस्तावित ब्यय तर्फ संघीय,प्रदेश सर्सत अनुदान,संघ,प्रदेश समपुरक अनुदान तर्फ २८ करोड १५ लाख ३ हजार,गापा स्तरीय एवम् वडा पूर्वाधार विकास तर्फको पूँजीगत तर्फ २६ करोड १ लाख र कार्यालय सञ्चालन,कर्मचारी पारिश्रमिक तथा पदाधिकारी सेवा सुविधा समेत चालु खर्च तर्फ ९ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ ।

बजेट सार्बजनिक हुनुअघि गाउँपालिका अध्यक्ष आचार्यले प्रस्तुत गर्नुभएको सुशासन सम्बन्धि कार्यविधि,आर्थिक ऐन,बार्षिक प्रतिवेदन तथा आव २०८१÷८२ को बजेट कार्यान्वयन गर्ने कार्यदेशसहितको नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष आचार्यले सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम समेत सवै विधेयक र प्रतिवेदनहरु सभाबाट सर्वसम्मत रुपमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।






