पर्वत/नेपाली काँग्रेस गण्डकी प्रदेशको कार्य समिति बैठक एवम् प्रशिक्षण कार्यक्रम पर्वतको कुश्मामा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पछिल्लो राजनीति घटनाक्रम हेर्दा कांग्रेस अब पुरानो शैलीमा चलेर नहुने बताए । उनले भने,‘कार्यकर्तापङ्तिमा आत्मविश्वास र आम जनताको भरोसालाई पुर्नस्थापित गर्ने गरी पार्टीलाई दिशानिर्देश गर्न पार्टीभित्र आत्मसमिक्षा मात्रै गरेर पुग्दैन त्यसलाई सच्याउँदै आफु वदलिने र देशको मुहार बदल्ने सपना र संकल्प पनि देखाउन सक्नुपर्छ ।,’सभापति शर्माले गण्डकी प्रदेशका ११ वटै जिल्लामा कार्य समितिको वैठक र प्रशिक्षण कार्यक्रम आयोजना गरेको बताउँदै यो कार्य अनुकरणी भएकाले सवैले सहयोग गर्नुपर्ने धारणा राखे । उनले प्रशिक्षण कार्यक्रमले काँग्रेस कार्यकर्तामा उत्साह बढ्ने विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिलाई पूर्वाग्रह नराखी काम गर्न सुझाव दिए । उनले काँग्रेस एकढिक्का भएमात्र मुलुकका समस्या हल हुने बताउँदे नेता जोशीले वर्तमान सरकारका कारण मुलुकमा बेतिथी बढेको आरोप लगाए । नेकपा सरकारप्रति जनता निराश रहेकाले जनतलाई निराश हुनबाट जोगाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको उल्लेख गरे ।
नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशीले गण्डकी प्रदेश कार्य समितिले जिल्लालाई उपेक्षा गरेको आरोप लगाए । उनले जिल्लाको निर्णय विपरित कार्य नगर्न प्रदेश कार्यसमितिलाई चेतवानी दिँदै सवै मिलेर अगाडि बढ्नुपर्ने धारणा राखे ।
प्रशिक्षणमा नेपाली कांग्रेसको विधान र नियमावली विषयमा प्रदेश महामन्त्री एवम् राष्ट्रिय सभा सदस्य किरणवावु श्रेष्ठ, संगठन र नेतृत्व विषयमा प्रदेश महामन्त्री विष्णुप्रसाद लामछिाने, प्रजातान्त्रिक समाजवाद र नेपाली कांग्रेसको अर्थनीति विषयमा डाक्टर रघुराज काफ्ले र राष्ट्रको समृद्धीको आधार, नेपाली कांग्रेसको राष्ट्रियता विषयमा प्रध्यापक डाक्टर कुसुमाकर न्यौपने र प्रजातन्त्रको सैद्धान्तिक अवधारणा र वर्तमान सन्दर्भमा विभागका सचिव कमलराज सापकोटाले प्रशिक्षण दिएका थिए ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापती एवम् संगठन विभागका प्रमुख कल्पना तिवारीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा करिव २ सय जनाको सहभागिता रहेको रहेको थियो । कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री रामचन्द्र जोशीले नेपाली कांग्रेस गण्डकी प्रदेशले शुरु गरेको प्रदेश स्तरिय प्रशिक्षणबाट पर्वतका नेता र कार्यकर्ता उत्साहित भएको बताए । उनले यस्ता प्रकारका प्रशिक्षणले पार्टीको स्पष्ट धारणा र ति धारणालाई तलसम्म लैजान मद्दत पुग्ने उल्लेख गरे ।