स्वच्छ छविका शाह ‘वालेन शाह’

36

-माधव चापागाईं

वालेन दलिय व्यवस्थाबाट थकित जनतालाई बिसाउने चौतारी बनेका छन् । केही स्थानीयले निहित स्वार्थका लागि उनको विरोध गरे पनि समग्र विकासप्रेमी जनताको केन्द्र वालेन बनिरहेका छन् । राजनीतिक दलको समस्या भनौं या खुशीको कुरा भनौं काठमाण्डौको नाम नै ‘वालेन सहर’ भनेर सामाजिक संजालमा पोष्ट गर्नेहरूको कमी छैन ।

संविधानसभाबाट निर्माण भएको संविधानले कथित निरंकुश राजतन्त्र मानिने शाह वंशको अन्त्य गरेर नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको उदय भयो । दलिय व्यवस्थाले (ज्ञानेन्द्र) शाहको विकल्पमा लोकतन्त्रको विगुल फुक्दा जनताले ‘शाह’ नै रोजे । यो पनि नेपाली जनताको ठूलो बलिदानी थियो । अन्ततः बालेन्द्र शाह ‘वालेन’ संघीय राजधानी एवं देशकै ठुलो महानगरपालिकाको मेयर बने ।
अहिले निकै चर्चामा रहेको नाम “वालेन” हो । जे गर्छन् वालेनले गर्छन् । “वालेन शाह जिन्दावाद” भन्ने नाराले चर्चा पाइरहेको छ । नेपालीहरु पुगेको ठाउँमा उनको पराक्रम, साहस र स्वाभिमानको प्रशंसा छ । केही समय अघि ‘सरर वालेन सहर’ भनेर गाडीका अगाडि पछाडी स्टिकर टास्नेसम्मका काम भए । हरेक सहरका चोक चोक, गल्ली गल्ली र गाउँका कुनाकुनासम्म उनका विषयमा चर्चा परिचर्चा चुलिएको छ । मानिसहरुले अर्थ्याउन थालेका छन्, नेता भनेको यस्तो हुनुपर्छ । देशको माया होस् । कसैको दबाबमा नपरोस् । निस्वार्थ भावनाले काम गरोस् । आखिर वीर गोर्खालीको नाम राख्ने नेपाल आमाको सच्चा सन्तान सदियौंमा एउटा जन्मिन्छ भन्थे हो रहेछ । यस शताब्दीमा यो देशको रक्षार्थ जन्म लिएका महान सपूत वालेन हुन् । श्रीमद्भगवत गितामा ‘यदा यदा हि धर्मस्य……….सम्भवामि युगे युगे ।।’ अर्थात् जब जब यस धर्तिमा धर्मको नाश अनि अधर्मको वृद्धि हुन्छ, तब तब म यो संसारमा सबैको अगाडि प्रकट हुने छु । सज्जनहरुको रक्षा र पापीहरुको बिनाशको लागि युग युग सम्म प्रकट हुने छु । भनेर श्रीकृष्णले भन्नू भएको छ । यो उक्तिलाई मनन गर्दा देशमा चरम व्यथिती, अराजकता, भ्रष्टाचार जस्ता असत् कर्मले उचाइ लिएको बेला वालेनको यो रुप भगवानले भने जस्तै मान्नेहरु पनि छन् ।

वालेन दलिय व्यवस्थाबाट थकित जनतालाई बिसाउने चौतारी बनेका छन् । केही स्थानीयले निहित स्वार्थका लागि उनको विरोध गरे पनि समग्र विकासप्रेमी जनताको केन्द्र वालेन बनिरहेका छन् । राजनीतिक दलको समस्या भनौं या खुशीको कुरा भनौं काठमाण्डौको नाम नै ‘वालेन सहर’ भनेर सामाजिक संजालमा पोष्ट गर्नेहरूको कमी छैन । जस्ले उनलाई हौसला मिलेको बुझ्न सकिन्छ । उनका रणनीतिलाई टेक्ने लठी बन्यो चुनाव चिह्न, दुख भुलाउने सामाग्री बने सामाजिक समस्या समेटिएका र्‍याप गित, पुरातात्त्विक विषयवस्तु र काष्ठमण्डपको संस्कृति संरक्षणको बलियो आधार बने उनका सल्लाहकार ‘राजनीतिक कुसंस्कार’ को भ्रष्ट चरित्रमा रुमलिन बाध्य जनताले संयमित भएर उनलाई भोट दिए अन्ततः उनी लौरो टेकेर उभिन सफल भए ।

जनताले पारदर्शी र भ्रष्टाचाररहित स्थानीय सरकारको अपेक्षा राख्छन् । जो भाग्यमानी काठमाण्डौका जनता रहेछन् । युवाको क्षमता र अठोटमाथि विश्वास गरेर भ्रष्ट राजनीतिको विकल्प खोजिरहेका युवा पुस्ताका लागि ‘वालेन’ एक आशा बने । निषेधको राजनीतिबाट देशले निकास पाउँदैन उचित रणनीति र असल शासक चाहिन्छ । भनेर स्वतन्त्रको विकल्प खोज्नु जनताको उदारता हो । पुरातनवादी सोचमा बाजेबराजुका पार्टी र चुनाव चिह्नले पछिल्लो समयमा अस्तित्व गुमाइरहेका छन् । केही मानिसहरुले नयाँ नेतृत्व चयनमा दृष्टि लगाउँदै आएका छन् भने केहिले युवा पिँढिलाई आफ्नो रोजाइ मान्ने गरेका छन् । नेपालको राजनैतिक इतिहासले वर्तमानमा सोचे जस्तो परिणाम पाउन असमर्थ छ । नेतृत्व जिम्मेवार, सक्षम र दक्ष हुनुपर्छ । असल व्यक्तित्व र उसको उद्देश्य समाज र समय सापेक्षित हुनुपर्ने ठान्न थालिएको छ । चुनावी भाषण कै भरमा भोट पाउने अवस्था लोप भएको छ । आधारभूत आवश्यकता परिपुर्तिका लागि विदेश पलायन हुन बाध्य सचेत युवा युवतीहरु “हाम्रो होइन राम्रो” रोज्नुपर्छ भन्ने नारा घन्काउँदै छन् । निर्वाचन आयोगले ती नेपालीलाई मतदान गर्ने अधिकार दिन नसके पनि उनिहरुको इच्छालाई परिवारले स्वीकार गरेका छन् । फलस्वरूप सर्वत्र नेपालमा राजनैतिक दल र दलका प्रतिनिधिले अपेक्षाकृत बहुमत पाएका छैनन् । यथास्थितिमा रुमलिएको हाम्रो समाजले ७ दशक माथीको जीवन काटिरहेका नेतालाई विस्थापित गर्न असमर्थ छ । परन्तु केही नयाँ, युवा र स्वतन्त्र उमेदवारको उपस्थिति पनि आशातित क्रममा छ । यस्तै परिवेशमा उदाएका उदाहरणीय चरित्र ‘वालेन’ हुन् । जस्को कार्यशैलीले जनतामा नयाँ आशा पलाएको छ भने दलिय व्यवस्थाको मैदानमा रमाएका राजनितीकर्मीलाई ‘रातको निद न दिनको भोक’ बनाएको छ । संघीयताको भुधरातलमा टेकेर स्थानीय तहलाई दिइएका काम, कर्तव्य र अधिकारलाई वालेनले सङ्घिय राजधानी काठमाण्डौ मै लागू गर्दा नेपालको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ । पुराना चिह्नले जनताको मानसपटलमा वितृष्णा जगाउनु नै उनी सफल बन्नुको पर्याय थियो । उनको काम गर्ने शैली र राजनैतिक व्यवहारबाट यो स्पष्ट हुन्छ कि उनी एकैपटक राजनीतिमा आएका भने होइनन् उनले वर्षौंदेखि नेपाली राजनीतिलाई हेरेको र राजनैतिक कुसंस्कारबाट थकित भएर विद्रोह गरेको बुझ्न सकिन्छ । जुन यात्रालाई उनका निकटष्ठ शुभचिन्तकले साथ दिएका छन् ।

जनचाहनाको पहिचान गरि प्रतिबद्धता जनाउनु, जनतालाई विश्वासमा लिनु र कार्यान्वयन गरेर देखाउनु नै बालेनको पहिलो चुनौती थियो । आफ्ना प्रतिद्वन्द्वीहरुका आवाजलाई समेटेर काम गर्छु भन्ने उदार नीति पनि जनतालाई प्रभावित तुल्याउने उपयुक्त नीति हो । उनीहरूको सपना आफूले पूरा गरिदिने तर प्रतिद्वन्दीसङ्ग द्वन्द नगर्नु नै सबल पक्ष हो । सक्दो गर्ने, काम गरेपछि मात्रै अभिव्यक्ति दिने, कुनै प्रचारबाजी र झुटको खेती नगर्ने, बिना आश्वासन र निस्वार्थ भावनाका बिच प्रकट भएको उनको प्रवृत्ति प्रशंसनीय छ । प्रारम्भिक चरणमा फोहोर व्यवस्थापनदेखि कार्यालय सञ्चालनसम्मका काममा राजनीतिकरण गरिए । वालेनले “नविराउनु नडराउनु” भन्या झै आफ्नो उद्देश्यमा दृढता देखाएपछि सबै किसिमका हस्तक्षेप बन्द भए । अहिले उनी स्वतन्त्र छन् स्वतन्त्रै रहुन् शुभकामना ।

राजनैतिक अस्थिरता नै दिगो विकासको बाधक हो । आजको मन्त्री पद छिनभरमै खोसिन सक्ने शङ्का पालेका मन्त्रीले कसरी दीर्घकालीन सोच राख्न सक्छन् । आफ्नै अघिको गन्तव्य नदेख्ने शासकले देश र जनताको गन्तव्य पहिचान गर्न सक्छ ? वालेनको सोचले उचाइ छुनु र जनताले आशा भरोसा गर्नुमा यहि नीतिले मार्ग प्रसस्त गरेको छ । पाँच वर्षे कार्यकाल, निस्वार्थ भावना, दीर्घकालीन सोच, उचित परामर्श दाता, निरन्तरको लगनशीलता, राष्ट्र प्रेम राजनैतिक हस्तक्षेप रहित स्वतन्त्रता नै उनका मुल मन्त्र हुन् । त्यसो त यो होइन भन्नेहरुका अगाडि तमाम पालिका प्रमुखको दिनचर्या र उन्नतिको कसि जाच्नु पर्छ । के उनिहरुले बजेट पाएनन् ? या सिङ्गो कमिटी छैन ? के जनताले बाधाव्यवधान गरे? अनि किन जस लिन असमर्थ छन् ती चुनावी अनुहार ? पराजित मुहार कुन दुलोमा पसे? आखिर प्रतिपक्षको भुमिका किन नखेलेका ?
हामीले पुराना राजनीतिक दलहरूबाट के पायौँ ? राजनैतिक दलहरूसँग पुस्तौंले चिनारी बनाए तर जनताले उचित निकास पाएनन् । जनताले मध्यमार्गी बाटोको रूपमा पढेको युवालाई बनाए । वैकल्पिक उम्मेदवारको पक्षमा उभिएका जनतालाई वालेनको लठ्ठी नै सहारा बन्यो । जनतालाई हस्पिटल चाहिएको छ । उचित स्वास्थ्य परामर्श र निगरानी चाहिएको छ । स्वच्छ पर्यावरण, संस्कृति र सम्पदाको संरक्षण गर्ने संरक्षक चाहिएको छ । ताकी उनीहरुको दैनिकीमा सघाउने मान्छे होइन । उचित नीति नियम बनाउने नेतृत्व चाहिएको छ । भ्रष्ट चरीत्र होइन । यसर्थ पनि वालेन वैकल्पिक र योग्य उमेदवार बन्न सफल भए ।

देशको सबैभन्दा ठूलो महानगर एवं संघीय राजधानी भएकाले स्थानीय निर्वाचनमा छुट्टै रौनकता पाउने गरेको पालिका प्रमुखको यो उपस्थितिलाई सबैले विशेष रूपमा हेरेका छन् । राजनैतिक दलहरुले महानगरको शासन सत्ता आफ्नो पोल्टामा पार्ने दाउ खोजी रहँदा वालेनको उपस्थितिले सबैलाई अत्याएको छ । फरक उर्जा, निष्पक्षता, युवा वर्गको जमातका बिच उनको चुनावी सभा र प्रचारप्रसारले राजनैतिक दलका कार्यक्रमहरु खल्ला भए । प्रतिद्वन्द्वीहरुलाई २३,००० भन्दा बढी मतले पछाडि पारेका वालेनको मतभारले सम्पुर्ण नेपालीहरु चकित भए ।

सर्वसाधारणको समर्थन पाउँदैमा प्रशासन सञ्चालन र राजनैतिक हस्तक्षेपको सामना गर्नु सानो चुनौती थिएन । पालिकाको निर्णयमा मेयर मात्र सर्वोपरि हुँदैन । विभिन्न दलबाट निर्वाचित जनप्रतिनिधिहरू समाविष्ट समितिमा सहमति गर्नु अन्यथा बहुमत जुटाउनु आवश्यक हुन्छ । दलहरूसँगको द्वन्द्व, असमझदारी र समन्वयको अभावमा “दुर्घटना” हुन सक्थ्यो । तर वालेनले एकपछि अर्को रचनात्मक काम गरेर नविनताको उद्घोष गरिरहेका छन् । पुर्व कार्यकालका मेयर र उपमेयरबीच आन्तरिक द्वन्द्व हुँदा भएका निर्णयहरु कार्यान्वयनमा निकै सकस परेको सर्वविदितै छ । पक्ष र विपक्षका बिच विविध व्यथितिहरुको सामना गरेको यो पालिकाले वालेनलाई स्पष्ट स्वीकार गरेको छ । उनको कार्यका विरुद्ध कसैले बोल्ने समेत धृष्टता देखाएका छैनन् । सबै तै चुप मै चुपको अवस्थामा छन् ।

प्राचीन कला संस्कृति, सम्पदा, सामाजिक मुल्यमान्यता र परम्परा संरक्षणको विषय उठाएकाले पनि उनलाई सबै मानिसले विश्वास गरेका छन् । भाषा, सभ्यता, गुठी, सडक र त्यससँग जोडिएका समस्यालाई जनचाहना अनुसार सम्बोधन गर्नु नै वालेनको सफलता मान्न सकिन्छ । अर्को तर्फ निष्कलङ्क र भ्रष्टाचार रहित काम गरे विरोध नहुने सङ्केत स्पष्ट छ । त्यसै गरि जनसंवाद र जनसहभागिताको संयन्त्र विकास गर्नु, सञ्चार व्यवस्थापन जस्ता कारणले पनि वालेन सफल भएको मान्न सकिन्छ । कलाकारको परिचयसङ्गै पेसाले इन्जिनियर भए पनि आफ्नु कार्य अनुभव र आफूले कलामार्फत् उठाउँदै आएको मुद्दालाई मूर्त रूप दिने र व्यवहारमा लागु गर्ने भन्दै निर्वाचन अभियानमा सामाजिक मुद्दा उठाएका उनले फलतः राजनीतिक मुद्दादेखि मानसिक स्वास्थ्य शुद्ध राख्न नसकेको हाम्रो समाजले परिवर्तनको आभास पाएको छ । आफू स्वतन्त्र भएर आफ्नो पेसागत दक्षता र शैक्षिक पृष्ठभूमिको आधारमा काम गर्न सफल रणनीतिकारका रुपमा वालेनले आफ्ना निकटष्ठ परामर्शदातालाई मान्छन् । उनी आफ्नो समूहमा शिक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापन, यातायात, कानुन, प्रशासन, राजनितीज्ञ लगायत सबै क्षेत्रका विज्ञहरूलाई समेटेर उनीहरूको सल्लाह, सुझाव र सहयोगलाई शिरोपण गरि अगाडि बढेको पाइन्छ ।

दलीय राजनीतिमार्फत् उम्मेदवार हुँदा पार्टीप्रतिको दायित्व पूरा गर्नुपर्ने, ठूला नेता र पार्टी कार्यकर्ताहरुको दब्दबा व्यहोर्नुपर्ने भएकाले दलीय अङ्कुश परित्याग गरि जनतालाई परिवर्तनको नवीन रुप दिलाउने आश्वासन दिएका उनले तदनुरुप विकास निर्माण र नीति तर्जुमा गर्न सफल भइरहेका छन् । आफुलाई जनताका पक्षमा काम गर्दा उचित साथ, सहयोग र सुझावको खाचो पर्ने र सुझावसङ्गै उचित खबरदारीको अपेक्षा राखेका वालेनले ससाना समस्या र चुनौतीलाई सामान्य ढंगले लिन्छन् । विजय उत्सव समेत मनाउन अनिवार्य नठानेका उनले अहोरात्र जनताको सेवामा खटिएर उदाहरणीय चरित्र प्रस्तुत गरेका छन् । काठमाण्डौ महानगरको निष्पक्षता पुर्ण कार्यशैलीको अभियानलाई देशव्यापी बनाउने प्रयास गर्नुपर्छ भन्ने युवा जमातलाई पाका पुस्ता, सामाजिक अभियानता, राजनैतिक विश्लेषक, कानुन विद, पत्रकार, बुद्धिजीवी र सरोकारवालाहरुको साथ सहयोगको खाँचो छ । ताकी हरेक शहर, गाउँ, टोल र बस्तिहरुमा राष्ट्रभक्त ‘वालेन’हरूको उदय होस् । निस्वार्थ भएर देशको सेवा गर्न सकून्, । राष्ट्र निर्माण र समुन्नतिको आवाज बुलन्द पारुन् । तब मात्र जनतामा निहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको आभास हुनेछ । जनताले शान्ति सुव्यवस्था र अमनचयनको प्रत्याभूत गर्न पाउनेछन् । न्याय र अधिकारको पहुँच सर्वसाधारणको घरघरमा पुग्ने छ । परन्तु राष्ट्रप्रेमी जनताका नेता वालेन राजनैतिक सिकार नबनून् । सफल कार्यकालको शुभकामना !!