‘समुदायमा काँग्रेस’ अभियान पर्वतमा पनि शुरू, ६१ वटै वडामा प्रतिनिधि खटाइने

पर्वत/सहिद दिवसको अवसर पारेर नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले तय गरेको ‘समुदायमा काँग्रेस’ अभियानको पर्वतमा पनि आजबाट औपचारिक रुपमा शुभारम्भ भएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा अभियानका लागि पर्वत प्रतिनिधि चम्पादेवी खड्काको प्रमुख आतिथ्यतामा वीपी स्मृति भवन कुश्मामा भएको बैठकले अभियानलाई जिल्लाका ६१ वटै वडामा एकैसाथ संचालन गर्नेगरि प्रतिनिधि खटाउने निर्णय गरेको पार्टी सचिव गुप्तनिधि शर्माले जानकारी दिनुभयो । कार्यक्रममा केन्द्रीय प्रतिनिधि खड्काले अभियानको कार्य संचालन निर्देशिका पढेर सुनाउनु भएको थियो । उहाँले पार्टीले आफ्नो आन्तरिक अभियानलाई यसअघिनै सम्पन्न गरिसकेको वताउँदै अब संचालन हुने समुदायमा काँग्रेस अभियानबाट आम जनताको समस्या र गुनासोलाई समेत पार्टीले बुझ्ने र समाधानका लागि काँग्रेसलेनै अगुवाइ गर्ने अवसर प्राप्त हुने दावी गर्नुभयो । ‘जनताको समस्या के छ, जनप्रतिनिधि र कर्मचारीहरूले दिएको सेवाबाट जनताहरू सन्तुष्ट छन् कि छैनन्? सार्वजनिक निकायमा सुशासन र जवाफदेहिता कस्तो छ भन्ने विषयमा पनि काँग्रेसका कार्यकर्ताहरूले यो अभियानबाट थप जानकारी लिनेछन् ।’- केन्द्रीय प्रतिनिधि खड्काले भन्नुभयो ।

कार्यक्रममा प्रदेश सभा (ख)का प्रतिनिधि एवं गण्डकी प्रदेश सदस्य सीता काफ्ले लामिछानेले अभियानले जनता र पार्टी बीचको सम्बन्धलाई नजिक हुन सहयोग पुग्ने दावी गर्नुभयो । सोही कार्यक्रममा पार्टीका गण्डकी प्रदेश सदस्य यामबहादुर मल्ल (रामकृष्ण)ले अभियानलाई प्रभावकारी बनाउन सबैको सहयोग र सहकार्यको आवस्यकता रहेको वताउनु भयो ।

कार्यक्रममा पार्टीका कार्यबाहक सभापति डाक्टर चूडामणि शर्माले सहिद दिवसको अवसरमा शुभारम्भ भएको यो अभियान सुशील कोइरालाको समृति दिवसको दिन माघ २६ गते समापन हुने जानकारी दिनुभयो ।