सामुदायिक विद्यालयले शिक्षामा गुणस्तर दिएपछि पालिकाभरिका सबै नीजि विद्यालय बन्द

15

पर्वत/सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पठ्नपाठन शुरुवात गरेपछि पर्वतको महाशिला गाउँपालिका नीजि विद्यालय विहिन भएको छ । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएसँगै सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आएपछि गाउँपालिकाका विभिन्न वडामा संचालित निजि विद्यालय बन्द भएका हुन् । हुनेखानेका बालबालिका गुणस्तरीय शिक्षाको नाममा बजार जाने र गाउँमा रहेका विपन्न तथा मध्यम परिवारका बालबालिका समेत लामो समय विद्यालयमा नटिक्ने समस्या भएपछि गाउँपालिकाले सामुदायिक विद्यालयहरुबाटनै निजि विद्यालय सरहको शिक्षा दिन थालेको हो ।

शुरुवातमा कक्षा १ देखि ३ सम्म पालिका आफैले दिवा खाजा कार्यक्रम शुरु गरेपछि विद्यालयमा विद्यार्थीको टिकाउ दर बढ्यो । सरकारले कक्षा पाँच सम्म दिवा खाजा कार्यक्रम संचालन गरेपछि निजि बिद्यालयमा भन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको हो । अहिले कक्षा नर्सरीदेखि १० सम्मनै सवै विद्यालयमा अंग्रेजी माध्यममा पढाई संचालन भैरहेको छ । शिक्षक आफैले प्रश्न तयार गर्दा नतिजा राम्रो नआउने भएकाले बाहिरवाट विषविज्ञ बोलाएर प्रश्नपत्र तयार गर्ने र शिक्षकको नभई कर्मचारीको रोहवरमा परिक्षा लिने तथा नतिजा विश्लेषण गर्ने त्यस गाउँपालिकामा गरिएको छ ।

गाउँपालिकाले तीनवटा विद्यालयलाई आवासीय विद्यालयको रुपमा समेत संचालन गरेको छ । वडा नं. १ मा रहेको गोल्र्याङधाम आधारभुत माध्यमिक विद्यालय, वडा नंं ४ पाखापानीमा रहेको स्वधर्म मावि र वडा नं. ५ लंखुदेउरालीमा रहेको महेन्द्रज्योती माविलाई पुणर् तथा आंशिकरुपमा आवासिय विद्यालय संचालन गरि विहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्यार्थीलाई विद्यालयमै राख्ने, पढाई सँगै अतिरिक्त क्रियाकलाप सिकाउने गरिएको छ ।

आवासीय विद्यालयमा परिचालन हुने शिक्षकलाई गाउँपालिकाले तलबको थप ३५ प्रतिशत रकम उपलव्ध गराउँदै आएको छ । त्यसैगरी एक शिक्षक एक ल्यापटप र एक कक्षा एक प्रोजेक्टर कार्यक्रम लागु गरेर प्रविधिमैत्री शिक्षा समेत दिने कार्यक्रम गाउँपालिकाले अघि बढाएको छ ।