नाङ्लीवाङ्देखि बागलुङ जोड्ने विश्वकै दोश्रो लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा

13

पर्वत/जिल्लाको जलजला गाउँपालिका–८ नाग्लिवाङ देखि बागलुङ नगरपालिका–४ गौरीधाम जोड्ने गरी कालीगण्डकी नदीमाथि पुल तयार भएको छ । ५२४ मिटर लामो १८५ मिटर अग्लो सिंगल स्पानको बिश्वकै दोस्रो लामो झोलुङ्गे पुलले यस क्षेत्रमा धार्मिक तथा आन्तरिक पर्यटक आकर्षित गर्ने पुल निर्माण गरिरहेको निर्माण कम्पनी हिमशिखर हिरा कन्ट्रक्सनका प्रतिनिधि वसन्त घर्ती मगरले जानकारी दिएको खबर विभिन्न अनलाईनहरुमा प्रकाशित छ ।

अहिले निर्माण भएको पुलले पर्वत र बागलुङ लामो यात्रा छोटिने छ । यसले धार्मिक र आन्तरिक पर्यटक तान्न सफल हुनुका साथै कृषि उपज बिक्री वितरण गर्नसमेत सहज हुने स्थानीयको भनाई छ । स्सपेन्सन ब्रिज नेपाल ललितपुरले हिमशिखर हिरा कन्ट्रक्सनलाई कामको जिम्मेबारी दिएको थियो । २०७९ भदौ ४ गते यो पुल निर्माण कार्य थालनी भएको थियो । काम सुरु भएको एक बर्ष भित्र करिब ९५ प्रतिशत काम सम्पन्न गरिसकेको छ । पुल निर्माण गर्न ८ करोड २३ लाखमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कार्यको म्याद झण्डै १ बर्ष बाकी रहेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौरदेखि पर्वत पाङ जोड्ने बिश्व कै सबैभन्दा लामो ५६७ मिटरको झोलुङ्गेपुल ४ वर्ष अगाडि नै बनिसकेको छ । यसभन्दा अघि स्विजरल्याण्डमा ४९७ मिटर लामो सिंगल स्पानको झोलुङ्गे पुल विश्वकै सबैभन्दा लामो रहेको थियो । पर्वत जिल्लामा देशकै पहिलो अग्लो झोलुंगे पुल निर्माण भएको झण्डै डेढ दशक पुगेको छ । यस अवधिमा पर्वत जिल्लामा मात्रै आधा दर्जन बढि अग्ला झोलुंगे पुलहरु निर्माण भएका छन् ।