पर्वत/नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले शरीरमा सास रहुन्जेल पदका लागि नभएर पार्टी संगठनको पक्षमा क्रियाशील भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेता जोशीले शनिबार माझफाँटमा आयोजित नेपाली काँग्रेस जलजलाको पालिका सम्मेलनलाई सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो । उहाँले अहिले पार्टीभित्र आफूले पद र टिकट पाए काँग्रेसमा भोट हाल्ने र पद र टिकट नपाए पार्टीका उम्मेदवारलाई असहयोग गर्ने प्रवृति मौलाउँदै गएको वताउँदै रूखमा भोट नहाल्नेलाई क्रियाशील सदस्य बनाएर काम गर्ने कार्यकर्ताको मनोबल नघटाउन स्थानीय नेतृत्वलाई सुझाव दिनुभयो ।
नेता जोशीले पछिल्लो समय युवा विद्यार्थीहरूमा विद्रोहको चेतना विकसित हुँदै गएको र समाज पनि नकरात्मक बाटोतर्फ अग्रसर भएको दावी गर्दै युवाहरूलाई सही दिशा निर्देश गर्न सबैले आ-आफ्नो घरबाटै संगठन सुदृढिकरणको शुरूवात गर्न आग्रह समेत गर्नुभयो । उहाँले पार्टीका नेता र जनप्रतिनिधिको अगुवाईमा भएका विकासका कामहरूलाई समुदायसम्म प्रचारप्रसार नगर्दा काम गर्ने एउटा र जस पाउने अर्कै भएकोले अगुवा कार्यकर्ताहरूलाई यो विषयलाई पनि ध्यान दिन निर्देशन दिनुभएको थियो । -‘विकास निर्माणका सबै कामको शुरूवात काँग्रेसकै नेतृत्वमा भएको छ तर हाम्रा कार्यकर्ता नबोल्ने, विपक्षीले केही पनि भएको छैन भन्दै चर्को श्वरले कराउँदै हिँड्ने प्रवृत्तिले जनतालाई भ्रम पर्यो र हाम्रो जनमत घट्यो ।’- नेता जोशीले भन्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य यामबहादुर मल्ल (रामकृष्ण)ले काँग्रेसले आन्तरिक व्यवस्थापनलाई मिलाउन नसक्दा जलजला लगायत सबै पालिकामा पार्टीले राम्रो परिणाम ल्याउन नसकेको धारणा राख्नु भयो । उहाँले चित्त नबुझेको कुरा पार्टीका फोरमहरूमा खुलेर राख्न कार्यकर्ताहरूलाई आग्रह गर्दै अविचलित भएर संगठन सुदृढिकरणमा लाग्न सुझाव दिनुभयो । मल्लले जलजलामा शुरूवात भएका विकास आयोजनाहरूलाई पूर्णता दिन पालिका, प्रदेश र संघमा समेत आफ्नै सरकार भएकोले निराश नहुन कार्यकर्तालाई सुझाव समेत दिनुभएको थियो ।
सोही कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले आफू जनप्रतिनिधिको रूपमा निर्वाचित भएपछि जलजलाको शिक्षा, स्वास्थ्य र कृषिको विकासका लागि अहोरात्र खटिएर काम गरेको जानकारी दिँदै गाउँपालिकाबाट आफूले गरेको कामको आधारमा अर्को निर्वाचनमा सबै वडा काँग्रेसले जित्ने दावी समेत गर्नुभयो । अध्यक्ष आचार्यले गाउँपालिकाको श्रोतसाधन कम भएको र जनताको अपेक्षा बढि भएकोले सबै आवस्यकता पुरा गर्न नसकिएको भएपनि जनताको भावनालाई सम्बोधन गर्ने कुरामा आफू निरन्तर प्रतिबद्ध रहेको वताउनु भएको थियो । उहाँले विकास निर्माणमा पार्टी र जनप्रतिनिधिको समन्वय भएको वताउँदै कहीँ कतै समस्या भए गाउँपालिकामा खुलेर कुरा राख्न सुझाव दिनुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष हेम शर्मा पौडेल, नेपाल महिला संघ पर्वतका अध्यक्ष मुना शर्मा लामिछाने, काँग्रेसका जिल्ला कार्य समिति सदस्य जगतशंकर पौडेल, काँग्रेसका जिल्ला सदस्य लक्ष्मी हमाल आचार्य, नेपाली काँग्रेसका संगठन विभाग संयोजक कमल अधिकारी, नेपाली काँग्रेस जलजलाका संगठन विभाग प्रमुख एवं वडा नं ८ का वडा अध्यक्ष हरिविकास जिसी, लेकफाँटका सभापति यम शर्मा पौडेल, पूर्व वडा अध्यक्ष रवि भण्डारी , नेपाल शिक्षक संघ जलजलाका अध्यक्ष हरिनारायण रेग्मी, नेपाल महिला संघ जलजलाका अध्यक्ष माया शर्मा रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाली काँग्रेस जलजला कार्यसमितिका सभापति इन्दुप्रकाश पौडेलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन सचिव नविन जिसीले गर्नुभएको थियो भने स्वागत मन्तव्य पार्टीका उपसभापति शशी शर्मा आचार्यले गर्नुभएको थियो ।