पर्वत/जिल्लाको पहिलो र ठुलो नगरपालिका कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी विष्णुप्रसाद तिवारीले सम्हालेका छन् । आजै नगर प्रमुख रामचन्द्र जोशी र उप प्रमुख स्वस्थानी रिजालले सफल कार्यकालका लागी शुभकामना दिदै तिवारीलाई पदवहाली गराएका हुन् । तिवारीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेसंगै रोकिएको नगरसभा हुने कुरामा जनप्रतिनिधिहरु विश्वस्त भएका छन् । नगरपालिकाकै शिक्षा शाखा प्रमुख रहेका तिवारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरेको हो । उनिसंग जिल्ला शिक्षा अधिकारीको रुपमा कार्य गरेको लामो अनुभव समेत रहेको छ । कुश्मा नगरपालिकामा धेरै वर्ष शिक्षा शाखा प्रमुखको रुपमा कार्य गरेकाले पनि नगरका समस्याहरुको वारेमा तिवारी जानकार रहेका छन् ।
असार १० गते हुनुपर्ने नगरसभा जनप्रतिनिधिहरु वीचको विवादका कारण हुन सकेको छैन । नगरपालिकामा पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको थियो । नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलको सरुवा भए देखि भदौ १० गतेपछि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अभाव थियो । देशभरका सवै नगरपालिकाहरुले नगरसभा गरेपनि अहिलेसम्म कुश्मा नगरपालिकामा नगरसभा हुन सकेको छैन । प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तिवारीले लिएसंगै अव नगरसभा हुने अपेक्षा नगरबासीले गरेका छन् । नगरपालिकाको नगरसभा नहुँदा विकास आयोजना मात्र होइन दैनिक प्रशासनिक कामहरु समेत प्रभावित बनेका छन् ।
नगर प्रमुख रामचन्द्र जोशीले दलीय सहमती कायम गरि रोकिएको नगरसभा यथाशिघ्र सम्पन्न गर्न आफू लागि पर्ने वताउनु भएको छ । ‘नगरसभा नहुँदा नगरबासीका धेरै काम ठप्प भएको छन्, अब छिट्टै नगरसभा गरि नगरपालिकाको कार्यसम्पादन चुस्त ढंगले अघि बढाउँछौ ।’- नगरप्रमुख जोशीले भन्नुभयो । उहाँले नगरको समृद्धि र विकासको लागि सबैको साझा सहमती र प्रतिबद्धताको आवस्यकता रहेको वताउनु भयो ।