पर्वत/नेपाली काँग्रेस पकुवाका संस्थापक सभापति एवं पूर्व प्रधानपञ्च, समाजसेवी गोविन्द प्रसाद शर्मा रिमालको स्वर्गारोहण भएको ९ औं दिनको पूण्य तिथिमा नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं १२ पकुवाले शोकसभा सम्पन्न गरेको छ ।
शोकसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले स्वर्गीय रिमालको निधनबाट पार्टीले एउटा असल अभिभावक गुमाएको वताउनु भएको छ। गोविन्द रिमाल पार्टी र समाजको लागि एउटा जिउँदो इतिहास भएको दावी गर्दै नेता जोशीले लोकतन्त्र र प्रजातन्त्रको संरक्षणका लागि उहाँको महत्वपूर्ण योगदान रहेको जानकारी दिनुभयो । समाजको विकास र पार्टी संगठनलाई केन्द्रमा राखेर काम गर्ने रिमाल गाउँको विकासको अभियन्ता समेत भएको उहाँको भनाई थियो । ‘गोविन्द रिमाल मेरो राजनीतिको प्रेरणा पनि हुनुहुन्थ्यो, पार्टीका लागि निष्ठावान र समाजको विकासका अथक अभियन्ताको निधनले मलाई र नेपाली काँग्रेस पार्टीलाई समेत अपुरणीय क्षति पुगेको छ ।’- नेता जोशीले भन्नुभयो । उहाँले समाजमा अहिले काम गर्नेहरुलाई निरुत्साहित गर्ने गलत परिपाटीको विकास भएको वताउँदै काम गर्नेलाई हतोत्साहित बनाएर हल्ला गर्नेहरूलाई प्रोत्साहित गर्ने जमात बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
शोकसभामा नेपाली काँग्रेस पर्वतका उपसभापति शिवप्रसाद सुवेदीले गोविन्द प्रसाद शर्मा रिमालको निधनबाट पार्टीले एउटा त्यागी अभिभावक गुमाएको वताउँदै उहाँले समाज राजनीतिमा देखाएको उच्च संस्कार र त्यागको अनुशरण सबैले गर्नुपर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश आमन्त्रित सदस्य टंकप्रसाद सुवेदीले स्वर्गीय रिमालले राजनीतिक र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो । कुश्मा नगरपालिका वडा नं ११ का पार्टी सभापति कृष्णबहादुर केसीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन पार्टीका सचिव ईश्वरीप्रसाद भुसालले गर्नुभएको थियो । रिमालको ९३ बर्षको उमेरमा यही भाद्र २१ गते निधन भएको थियो । कार्यक्रममा जिल्ला कार्यसमिति पर्वतका सदस्य ओमप्रसाद शर्मा घायल, जिल्ला कार्य समिति सदस्य गणेशबहादुर क्षेत्री र नेपाल रेडक्रस सोसाइटी पर्वतका अध्यक्ष रुद्रबहादुर रिमाल र काँग्रेसका युवा नेता मिनबहादुर वस्याल लगायतको उपस्थिति रहेको थियो ।