असोज, १४,पर्वत/कालीगण्डकी जलाशयमा वर्षाका कारण अबरुद्ध बनेको जल यातायात (स्टीमर सेवा) बर्षा याम सकिएपछि पनि सुचारु हुन सकेको छैन । असोजको दोस्रो साता सम्म पनि नदीमा पानी बहाब नघटेपछि नेपाली पानी जहाज समेत भनेर चिनिने स्टिमर सेवा सुरु हुन नसकेको हो ।
वर्षाका कारण नदीमा बहाब बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि स्टिमर सेवा अबरुद्ध छ । कालीगण्डकी ए जलबिद्युत गृह मर्मतका लागि एक साता देखि बाँधका ढोका खोलिएका छन भने बहाब समेत घटेको छैन । बिद्युत गृहको मर्मत सक्ने र बहाब घटेपछि मात्रै बन्द स्टिमर सेवा सुचारु हुने सेतीबेणीका ब्यबसायी रबि भट्टराईले बताए । ‘बाँधको ढोका बन्द नहुँदा र बहाब नघट्दा सम्म स्टिमर सुचारु हुन सक्दैन’ उनले भने ‘असोजको २० भन्दा अघि सुचारु हुने संभावना देखिदैन’ जलाशयमा दैनिक रुपमा संचालीत ११ वटा स्टिमर अहिले ठप्प बनेका छन् । पछिल्लो समय स्थानीय बोटे समुदायलाई आयआर्जनका लागि कालीगण्डकी ए जलविद्युत आयोजनाले पनि दुईवटा स्टिमर उपलव्ध गराएको छ । स्टीमरमा २५ जनाले प्रत्यक्ष रुपमा र दर्जनौ व्यक्तिहरुले अप्रत्यक्ष रुपमा रोजगारीको अवसर समेत पाएका छन् । जल यातायात सेवा अबरुद्ध हुँदा पर्वत र स्याङजा जिल्लाका ग्रामीण क्षेत्रका बासिदाहरु यातायातको सुविधाबाट बञ्चित बनेका छन् ।
गुल्मी क्षेत्रमा भने कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि स्टिमरको भर पर्नुपर्ने अवस्था टरेको छ । विगत १८ वर्ष देखि व्यावसायिक रुपमा स्टिमर सञ्चालन भएपछि त्यस क्षेत्रका धेरै गाउँका बासिन्दाहरुले ९ महिनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्दै आएका छन । स्टिमर सेवा वर्षातको समयमा भने ३ महिना अवरुद्ध हुने गरेको छ । दक्षिण पर्वतको विहादी गाउँपालिका स्थित वडा नं. ६ साविकको शालिग्राम गाविसदेखि स्याङजाको मिर्मि सम्म करिव आठ किलोमिटरको दुरीमा जलयात्रा सञ्चालनमा आएपछि पर्वतका दक्षिणबर्ती झण्डै डेढ दर्जन साविकका गाविसबासी त्यस्तै गुल्मी र स्याङजाका गरी २५ भन्दा बढी गाविसवासीहरुलाई सहज रुपमा यात्रा गर्ने तथा मालसामान ओसारपसार गर्दै आएका थिए ।





