पर्वत/नेपाली राजनीतिका शिखर पुरूष तथा प्रजातान्त्रिक समाजवादका प्रणेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्मजयन्ती पर्वतमा पनि मनाइएको छ । वीपी स्मृति भवन कुश्मामा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले वीपीको विचार र आदर्शलाई आत्मसात गर्न नसक्दा आजको काँग्रेसमा विचलन आएको वताएका छन् । उनीहरूले काँग्रेसको अबको कार्यदिशा सुशासन र समुन्नतीका निम्ति केन्द्रीत हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस पर्वतका सचिव गुप्तनिधि शर्माले नेपालमा राजनीतिक व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन हुन नसकेकोले जनतामा व्यापक निराशा छाएको वताउनु भयो । उहाँले सरकारको नेतृत्व गर्ने दलहरूले जनताका मुद्धालाई सम्बोधन गर्ने र देशमा सुशासन कायम गर्ने होभने जनतामा नेतृत्व र व्यवस्था प्रति भरोसा बढ्ने दावी गर्नुभयो । सचिव शर्माले पर्वत काँग्रेस सांगठनिक गतिशीलता, समन्वय र सहअस्तित्व सहितको पार्टी रूपान्तरण अभियानमा लागेकोले अबको केही समयपछि कार्यकर्तामा थप उत्साह बढ्ने वताउनु भयो । उहाँले सार्वजनिक कार्यक्रम, चोक र होटलमा बसेर कार्यकर्ताको मनोबल घट्ने अभिव्यक्ति नदिन पनि सबै तहका नेताहरूलाई सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि बसन्तबहादुर सिके, महाधिवेशन प्रतिनिधि कुलप्रसाद उपाध्याय, जिल्ला कार्य समिति सदस्य शिव शर्मा अधिकारी, नेपाली कांग्रेस प्रदेश सभा (क)का सभापति राजकुमार क्षेत्री, कुश्मा नगर कार्यसमितिका सभापति किशोर भण्डारी, काँग्रेसका संस्थापक सल्लाहकार दोर्णराज शर्मा पौडेल, वडा नं ७ का सभापति खेमनाथ शर्मा, जिल्ला समन्वय समिति पर्वतका सदस्य निर्मला रेग्मी, नेवि संघका जिल्ला सचिव रामचन्द्र सुवेदी र नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघका उपाध्यक्ष मानसिंह भण्डारी लगायतले नेपाली काँग्रेसको वर्तमान अवस्था र वीपी कोइरालाले राजनीतिमा पुर्याएको योगदानको विषयमा बोल्नुभएको थियो ।
पार्टी सचिव गुप्तनिधि शर्माको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य पार्टीका कोषाध्यक्ष हेम शर्मा पौडेलले गर्नुभएको थियो भने कार्यक्रमको संचालन पार्टीका जिल्ला कार्यसमिति सदस्य ओमप्रसाद शर्मा घायलले गर्नुभएको थियो ।