नेपाली काँग्रेसको संगठन सुदृढीकरणका लागि बाँसखर्कमा भयो वडा भेला

291

पर्वत/नेपाली काँग्रेसको संगठन सुदृढिकरण अभियान अन्तर्गत जलजला गाउँपालिका-१, बासखर्कको वडाभेला शनिवार सम्पन्न भएको छ । वडा भेलामा सहभागी स्थानीय नेता कार्यकर्ताले पार्टीका आन्तरिक अवस्थाको साथै वडाभित्रका कृषि, खानेपानी, सिचाई, स्वास्थ्य र शिक्षाका क्षेत्रमा व्यहोर्नु परेका विभिन्न समस्याहरूको वारेमा जानकारी गराएका थिए । उनीहरूले झण्डै ८० प्रतिशत काँग्रेस भएको बाँसखर्कमा आन्तरिक समस्याकै कारण दुईदुई पटक पार्टीले चुनाव हार्नुपरेको पीडा समेत प्रकट गरेका थिए ।

वडा भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेश कार्य सम्पादन समितिका सदस्य एवं काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले निराशालाई उत्साहका परिणत गरेर संगठन निर्माणमा लाग्न आम कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको थियो । ‘निर्वाचन हारेपछि पार्टीमा निराशा आएजस्तो देखिएको छ तर निराश भएर होइन अझै प्रतिबद्ध भएर संगठन निर्माणमा लाग्नोस् अर्को चुनाव जितिन्छ ।’ – मल्लले भन्नुभयो । उहाँले वडामा परेका ससाना समस्यालाई गाउँपालिकाबाट र ठूला समस्या भए प्रदेश र केन्द्रबाट सम्बोधन गर्न सकिने भएकोले योजनाहरुको प्राथमिकरण गरेर पार्टीलाई दिन आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति डाक्टर चूडामणि शर्माले काँग्रेस भित्रको आन्तरिक समस्या र सांगठनिक संरचनाको यथार्थ विष्लेषण गर्न नै पार्टीले ६१ वटै वडामा अहिले प्रतिनिधिहरू खटाइसकेको र त्यसको प्रतिवेदन समेत जिल्ला कार्य समितिमा आइसकेको वताउँदै कार्यकर्ताको गुनासो, सुझाव र अपेक्षालाई समीक्षा गरेर पार्टी अघि बढ्ने जानकारी दिनुभएको थियो । उहाँले टोलदेखि वडा, पालिका, प्रदेश र जिल्लाको सम्मेलन मार्फत पार्टी सुदृढिकरणको अभियान अघि बढेको जानकारी दिँदै पार्टीमा उत्साह, एकता र रूपान्तरणको लागि सबैले एक भएर काम गर्न सुझाव दिनुभएको थियो ।

सोही कार्यक्रममा पार्टी कोषाध्यक्ष हेम शर्मा पौडेलले काँग्रेसभित्रको आन्तरिक द्वन्द्व र द्वेषले पार्टी निरन्तर पराजित हुनुपरेको वताउँदै आगामी दिनमा एकअर्का प्रतिको द्वैषलाई त्यागेर काँग्रेस र रूख सम्झेर काम गर्न कार्यकर्तालाई सुझाव दिनुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका गण्डकी प्रदेशका आमन्त्रित सदस्य दण्डपाणी शर्मा, जिल्ला कार्य समिति सदस्य ओमप्रसाद शर्मा घायल, नेपाली काँग्रेस जलजलाका सभापति इन्दुप्रकाश पौडेल, महिला नेतृ अनिता मल्ल केसी, जलजलाका पूर्व सभापति चन्द्रबहादुर गर्वुजा लगायतले बोल्नुभएको थियो । नेपाली काँग्रेस जलजलाका सभापति शेरबहादुर खत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन स्थानीय नेता जगतबहादुर खत्रीले गर्नुभएको थियो ।