पर्वत/संविधानले तोकेको भन्दा झण्डै ६४ दिन ढिला गरी फलेबास नगरपालिकाको नगरसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०÷८१ को लागि नीति, कार्यक्रम र बजेट ल्याउने सिमा असार १० गते तोकिएको छ । नगरपालिकामा जनप्रतिनिधिहरु बीच बिवाद हुदाँ तोकिएको मिति भन्दा दुई महिना पछि मात्र नगरसभा सम्पन्न भएको हो ।यसैसाता सम्पन्न नगर सभामा नगरप्रमुख गंगाधर तिवारीले चालु वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख तिवारीले चालु आर्थिक वर्षमा बनको बाँदर वनमै भन्ने नारा अघि सारेका छन् । जंगलमा फलफुल रोप्नेदेखि बाँझो जमिनमा आय मुलक उत्पादनमा प्रोत्साहन गर्ने तिवारीले नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् । कृषिमा आधुनिकीकरण गर्ने कार्यक्रम साथै घर घरमा टनेल कार्यक्रम संचालन गर्ने तिवारीले उल्लेख गरेका छन् । पशु विमालाइ प्रोत्साहन गर्ने तथा पशु सुत्केरी कार्यक्रम अगाडी बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । बैदेशिक रोजगारवाट फर्केका युवालाई पशु तथा कृषि फर्म संचालन गर्न प्रोत्साहन गर्ने, परम्परागत पेशा गर्नेलाइ बिद्युत महशुलमा सौलिएत प्रदान गर्ने कार्यक्रम नगरले अगाडी बढाउने भएको छ ।
नगरसभाले कक्षा ६ का बिद्यार्थीलाइ पनि दिवा खाजा उपलब्ध गराउने नीति तथा कार्यक्रम ल्याएको छ । त्यसैगरि एक शिक्षक एक ल्यापटप कार्यक्रम अगाडी वढाउने कुरा उल्लेख गरिएको छ । मानसिक रोगको निशुल्क उपचार गरिने तथा कडा रोगीको उपचारको सहयोगका लागि छुट्टै कोषको स्थापना गरिने तिवारीले उल्लेख गरेका छन् । खेलकुदको प्रर्बद्धन गर्ने, आगामी २०८३ सालमा बालमैत्री स्थानीय तह घोषणा गर्ने , न्याय सचेतना कार्यक्रम सञ्चालन गर्ने कुरा निति तथा कार्यक्रममा उल्लेख छ । नगर प्रमुख तिवारीले सडक मापदण्ड आबश्यकता अनुसार परिमार्जन गराउने निति तथा कार्यक्रममा उल्लेख गरेका छन् । यसै वीच नगरपालिकाका उप प्रमुख शोभा क्षेत्रीले ६८ करोड २५ लाख ११ हजार ८ सय १० रुपैंया बराबरको बजेट सार्वजनिक गरेकी छिन । चालु आर्थिक बर्षका लागि क्षेत्रीले उक्त बजेटको अनुमानित आयब्यय सार्वजनिक गरेकी हुन् । कुश्मा नगरपालिकाको नगरसभा भने अझै अन्योलमा छ ।