नगर प्रमुख तिवारीको सुविधाको रकम विद्यालयलाई वितरण

59

पर्वत/फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले आफुले नगरबाट प्रमुखको हैसियतमा पाउने सेवासुविधा बापतको रकम विद्यालयको अक्षयकोषका लागि बितरण गर्नुभएको छ । नगरप्रमुख तिवारीले आइतबार फलेवास–४ मुडिकुवामा आयोजित एक कार्यक्रमका अवसरमा मुडिकुवाको माटेदेवल जनसहयोगि प्राविधिक तथा व्यवसायिक माध्यमिक विद्यालयलाई एक लाख एक हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिनुभएको हो ।

चुनावी घोषणाका क्रममा आफुले नगरबाट पाउने सेवाबापतको रकम सामाजिक सेवामा खर्च गर्ने बताउनुभएका तिवारीले सोहि घोषण अनुरुप आफुले अक्षयकोष स्थापना गरेको र उक्त कोषबाट विद्यालयमा अध्ययनरत जेहेन्दार छात्रछात्राहरुको शैक्षिक विकासमा खर्च गर्न विद्यालयलाई अनुरोध गर्नुभयो । आफुले नगरप्रमुखको हैसियतमा पाउने कुनै पनि आर्थिक लाभ नलिने घोषणा गर्नुभएका नगरप्रमुख तिवारीले यो सहित हालसम्म तीन लाख तीन हजार रुपैयाँ बिभिन्न सामाजिक काममा खर्च गर्नुभएको छ ।

तिवारीले यसअघि फलेवासकै कार्किनेटामा खरिद गर्न लागिएको एम्बुलेन्सका लागि एक लाख एक हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको थियो । त्यस्तै फलेवास–५ मा रहेको भवानी विद्यापीठ माध्यमिक विद्यालयको शैक्षिक विकासका लागि एक लाख एक हजार रुपैयाँको अक्षयकोष स्थापना गरिसक्नुभएको छ । आफुले पाउने पारिश्रमिक सुविधाले शैक्षिक विकासमा योगदान पु¥याउनका लागि सहयोग गरेको नगरप्रमुख तिवारीले बताउनुभयो । उहाँले उक्त रकम माटेदेवल माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष लिलाधर गौंडेललाई हस्तान्तरण गर्ने बताउनुभयो ।