असोज, १३ पर्वत/जलजला ४ कि बिममाया नेपालीले गाउँपालिकाबाटै नागरिकताको प्रमाणपत्र पाएकी छिन् । उनले मतदाता नामावलीमा फोटोसहितको परिचयपत्रका लागि नाम पनि त्यहीं दर्ता गराएकी छिन् । जलजलाकै सरिता परियार, पम्फा सार्की, कल्पना दर्जी र गीता दमाईलगायतका ६२ जनाले गाउँपालिका कार्यालयबाटै नागरिकता पाएका हुन्। नागरिकता नलिएकाले समेत मतदाता परिचयपत्रका लागि गाउँपालिकामै फोटो खिचाएका छन्।
स्थानीय तह कार्यान्वयनको करिब डेढ वर्षपछि जलजलावासीले पहिलोपटक गाउँपालिकाबाटै नागरिकता र फोटोसहितको परिचयपत्र पाएका हुन्। गाउँपालिका, जिल्ला प्रशासन र जिल्ला निर्वाचनलगायतका कार्यालयको समन्वयमा घुम्ती शिविर सञ्चालन गरिएकाले यस्तो सेवा सम्भव भएको हो । जिल्ला प्रशासन पर्वतले संघीय सरकारअन्तर्गतका कार्यालयको समन्वयमा जिल्लाका सबै स्थानीय तहमा पुगेर घुम्ती सेवा दिन थालेको छ । जलजलामा मात्रै नागरिकता र फोटोसहितको परिचयपत्रबाहेक दलित सिफारिस, व्यवसाय दर्ता तथा नवीकरणलगायतका सेवासमेत प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम आचार्यले बताए ।
जलजलामा ६२ नागरिकता, ७५ फोटोसहितको मतदाता नामावली, ३र३ वटा दलित सिफारिस तथा व्यवसाय दर्ता र ४ वटा व्यवसाय दर्ता नवीकरण गरिएको छ । नागरिकता र फोटोसहितको मतदाता नामावली दर्ताकै लागि सदरमुकाम पुग्दा खर्च हुने चाररपाँच हजार घुम्ती शिविरले बचत भएको सेवाग्राहीले बताएका छन् । जिल्ला प्रशासनले कुश्मा नगरपालिका र पैयुँ गाउँपालिकाबाहेक सबै स्थानीय तहमा घुम्ती शिविर सञ्चालन गरेको हो ।
‘नागरिकतासँगै स्थानीय तहबाट उपलव्ध नभएका सेवा गाउँबाटै दिने कार्यक्रम छ,’ प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले भने, ‘अघिल्ला वर्षभन्दा अहिले सेवा सहज गराइएको छ ।’ प्रशासनले हरेक चौमासिकमा नागरिकता, मतदाता परिचयपत्र, जेष्ठ नागरिक परिचयपत्र, दलित सिफारिसलगायतका सेवा गाउँमै दिनेगरी शिविर सञ्चालन गरेको हो ।





