पर्वत/४१ औं वीपी स्मृति दिवस तथा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशन एकैसाथ सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री एवं कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले काँग्रेसभित्रका केही हुल्लडबाज र अस्थिर मानसिकता वोकेका व्यक्तिहरूले पार्टी छाडे भन्दैमा पार्टीका स्वाभिमानी कार्यकर्ताहरू निराश हुन नहुने धारणा व्यक्त गर्नुभएको छ । नेता जोशीले काँग्रेसको सदस्यता र सिफारिस लिएर अमेरिका, अष्ट्रेलिया र क्यानडा पुगेकाहरूले गरेको अनर्गल टिप्पणीको पछि नलाग्न सबै कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयो । उहाँले केही व्यक्तिले पार्टी छोडेर काँग्रेस सकियो भन्ने भ्रम सिर्जना गर्ने र चोकमा बसेर नेतृत्वको आलोचना गर्नेहरूको कुरा सुनेर पार्टी नेतृत्वका प्रति धारणा वनाउन नहुने वताउनु भयो । -‘ काँग्रेसमा आजपनि लाखौंको संख्यामा कार्यकर्ता छन्, लाखौंलाख सदस्य भएको र वीपी कोइरालाजस्तो दूरदर्शी नेताले स्थापना गरेको नेपाली काँग्रेस कहाँ सकिन्छ? सहमहामन्त्री जोशीले भन्नुभयो । एक अर्को प्रसंगमा बोल्दै सहमहामन्त्री जोशीले नेपालको राजनीतिमा आदिवासी जनजातिहरूको निकै महत्वपुर्ण भूमिका रहेको उल्लेख गर्दै राष्ट्रियताको रक्षा लोकतन्त्रको संस्थागत विकासका लागि आदिवासी जनजातिहरूको सक्रियता र क्रियाशीलता भोलिका दिनमा अझै आवस्यक रहेको वताउनु भयो ।
नेपाली काँग्रेसका पार्टी सभापति युवराज जोशीले वीपी कोइरालाले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा अविचलित भएर लाग्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । सभापति जोशीले पार्टीमा पद र अवसर पाउँदासम्म ठिक र अर्कोले अवसर पाए बेठिक भन्ने प्रवृतिका कारण पार्टीमा विचलन आएको वताउँदै अस्थिर र अन्तरघाती सोंच भएका व्यक्तिको पछि नलाग्न सबैलाई अपिल गर्नु भएको छ । उहाँले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र नेपाली काँग्रेस पार्टीका वीचको सम्वन्ध भोलिका दिनमा अझै मजवुत हुने विश्वास समेत व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस प्रशिक्षण विभागका केन्द्रीय सदस्य प्राध्यापक डाक्टर कुसुमाकर न्यौपानेले राष्ट्रियता, लोकतन्त्र र समाजवादका साथै आदिवासी जनजातिहरूको इतिहासको विषयमा प्रशिक्षण दिनुभएको थियोभने गण्डकी प्रदेशका सांसद रेखा गुरूङ,गण्डकी प्रदेशका पूर्व सांसद ललितकला गुरूङ, नेपाल तरूण दलका जिल्ला अध्यक्ष एवं पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल (राज), नेपाल मगर संघका केन्द्रीय सदस्य रीता राना, नेपाली काँग्रेस महाशीला गाउँपालिकाका सभापति उज्ज्वल गुरुङ, नेपाल ट्रेड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसी र नेपाल दलित संघका जिल्ला अध्यक्ष याम परियार शिब लगायतले बोल्नुभएको थियो ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ पर्वतका अध्यक्ष भीमबहादुर गुरूङको सभापतित्वमा भएको उक्त कार्यक्रममा पार्टी उपसभापति डाक्टर चूडामणि शर्मा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संचालन नेपाल सांस्कृतिक संघका केन्द्रीय सदस्य कृष्ण गुरूङले गर्नुभएको थियो । अधिवेशनले उज्वल गुरूङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।