असोज,१२,पर्वत/जिल्लाका पर्यटन व्यवसायी र सरोकारवालाले पर्वतलाई चिनाउने हो भने कुश्माका चारवटा गुफा समेटेर सर्किट रुट आवश्यक पर्ने बताएका छन् । । ३८ औं विश्व पर्यटन दिवस मनाउन भेला भएका उनीहरुले जिल्लाको पर्यटन विकासका लागि यस्तो धारणा राखेका हुन् ।
पर्वत पर्यटन प्रवर्धन केन्द्रले कुश्मा–९ को अलपेश्वर गुफामा आयोजना गरेको अन्तरकृयाका सहभागिले विश्वका विकसित देशमा पर्यटनका क्षेत्रमा भएका असल अभ्यासको चर्चा मात्रै गरेनन्, यहाँ आउने आन्तरिक पर्यटकको मान गर्न सकेमात्रै कुश्माको एक तिहाई अर्थतन्त्र पर्यटकले धानिने दाबी समेत गरेका छन् । थाइल्याण्डको ३० प्रतिशत अर्थतन्त्र पर्यटनबाट धानिएको स्मरण गर्दै नेकपाका नेता गोबिन्द पहाडीले पर्यटकका लागि गर्ने व्यवहारले व्यवसायिक जग बस्ने बताउनुभयो ।
पर्यटनको विकासका लागि प्रवर्धनात्मक, पुर्वाधार र व्यवसायलाई मुख्य आधार बनाएर काम गर्नुपर्नेमा उद्योग बाणिज्य संघका महासचिव ठाकुर बि पौडेलले जोड दिनुभयो । अलपेश्वर धार्मिक पर्यटन विकास समितिका संयोजक प्रेमनारायण अधिकारीले अलपेश्वर, पार्वती, लालेश्वर र गुप्तेश्वर गुफासंग पौराणिक इतिहास जोडिएको बताउनुभयो । अलपेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष सुरेसवहादुर पिसीले गुफाको चर्चा बमोजिम विकास र आगन्तुकको ध्यान खिच्न नसकिएको बताउनुभयो ।
पर्यटन प्रविधिसंग रुपान्तरण’ यस वर्षको पर्यटन दिवसको नारा व्यवहारमै लागु गर्न स्थानीय स्तरबाटै कदम चाल्नुपर्ने पर्वत पर्यटन प्रवर्धन केन्द्रका अध्यक्ष शिव पौडेलले बताउनुभयो । कार्यक्रममा कुश्मा–९ का वडाध्यक्ष कृष्ण शर्मा लामिछानेले अब कुश्मा नगरपालिकाले पर्यटनको छुट्टै गुरुयोजना बनाउनुपर्ने बताउनुभयो । कुश्माका अग्ला पुल र गुफाको प्रवर्धन मात्रै गर्न सके पनि आर्थिक उपार्जन हुने उहाले बताउनुभयो ।





