पर्वत/ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सम्पर्कविहीन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका हुन् । अध्यक्ष नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको सेयर सदस्यहरूको आरोपमा सहकारीका सदस्यहरूले जिल्ला प्रशासनमा निवेदन दिएपछि यो कुरा बाहिर आएको हो ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा इमेज सहकारीका सेयर सदस्यहरूले मेयर भागेको भन्दै निवेदन लिएर आएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन् । उनले भनिन्, ‘निवेदन आएको छ, पछि हामीले सम्पर्क गर्न खोज्यौँ । तर, उहाँसँग सम्पर्क भएन ।
श्रेष्ठका अनुसार ४ दिन अगाडि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा आर्थिक समस्या भएको कारणले निरन्तर रूपमा मानसिक टर्चर आएको भन्दै मेयर नेपालीले पत्र दिएको जनाइएको छ । पत्रमा मानसिक तनावका कारण केही समय स्वास्थ्य उपचार गर्न बाहिर जानुपर्ने भन्दै उनले आफ्नो सम्पत्तिको रक्षा गर्न अनुरोध गरेको इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुँवरले बताए ।
‘पत्र छाडेर जानुभएको छ, मोबाइल अफ छ, केही समय स्वास्थ्य उपचार गर्न बाहिर जानुपर्ने र आफ्नो सम्पत्तिको रक्षा गर्न अनुरोध गर्न भनेर निवेदनमा भनिएको छ,‘ कुँवरको भनार्ई छ । प्रशासनले उनलाई सम्पर्क गर्दा पनि उनको मोबाइल स्विच अफ छ । नगर उपप्रमुख धनबहादुर कठायतलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिएर उनी फरार भएका छन् ।