पर्वत/सेवाग्राही र सेवा प्रदायकबीचको समझदारी कायम गर्दै स्थानीय तहलाई सुशासन र जवाफदेही बनाउने अभिप्रायले मोदी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको अन्तिम चौमासिकका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।
गाउँपालिकाको वडा न ६ तिलाहारमा आयोजीत सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुलाई गाउँपालिकालाई ७६ वटा प्रश्न सोधेका थिए । गाउँपालिकाको सडक, शिक्षा, स्वास्थ्य, फोहोर मैलाको ब्यवस्थापन, विद्युत, कर्मचारी प्रशासन, सेवा प्रवाह लगाएतका विषयहरुमा सहभागीहरुले प्र्रश्न सोधेका थिए ।
कार्यक्रममा चालु आर्थिक बर्षको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै प्रमुख प्रशासकीय अधिकृत कमल गौतमलले सहभागीहरुले उठाएका विषयहरुको उत्तर दिएका थिए । यसैगरी कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछाने सहभागीहरुले अपेक्षाकृत धेरै विषयहरु अझै नउठाएको भन्दै सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत आफ्ना कमजोरी थाहा पाउने अवसर भएकाले सुधार गर्नुपर्ने सवै कुराहरु उठाउन आग्रह गरेका थिए ।
गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रदेश सभा सदस्य भक्त कुँवर पनि सहाभागी थिए । उनले गाउँपालिकाको विकास र सम्बृद्धिका लागि आफू सवै समय तत्पर रहेको कुरा कार्यक्रममा बताएका थिए ।
गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले गाउँपालिका भित्रका सवै समस्याहरु क्रमशः सुधार गर्दै लैजाने भन्दै सहभागीहरुले उठाएका प्रश्नहरुको उत्तर दिएकी थिइन । उनले महिला शसक्तिकर, पूर्वाधार निर्माण र सीपमुलक कार्यक्रमहरु सञ्चालन गर्न तर्फ गाउँपालिका अग्रसर भईरहेको उल्लेख गरेकी थिइन् ।