पर्वत/नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसको नेतृत्वमा मुलुकलाई समुन्नतको उचाईमा लैजानु पर्ने बताउनु भएको छ । नेपाली काँग्रेस पर्वतको प्रशिक्षण विभागले आयोजना गरेको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रमको उद्घाटन गदै महामन्त्री शर्माले समुन्नत राष्ट्र निर्माणको दायित्व सँधै नेपाली काँग्रेसको काँधमा रहेको दावी गर्नुभयो ।
महामन्त्री शर्माले भन्नुभयो –,‘काँग्रेसको नेतृत्वमा यो देशलाई समुन्नतीको उचाईमा लैजानुपर्ने छ । जनताको विचमा काँग्रेसलाई बलियो बनाएर लैजानु भनेको देश बनाउने विषयलाई गति दिनु हो ।,’ उहाँले अहिले मुलुकमा एक खालको राजनीतिक प्रतिकुलतामा छाएको बताउँदै काँग्रेसले सबै दललाई समेटेर नेतृत्व गरेको बताउनु भयो । महामन्त्री शर्माले काँग्रेसले वोकेको विचारको पक्षमा अहिले सबै दल उभिएका बताउँदै सबैलाई समेटेर काँग्रेसले अभिभावकीय भूमिका निर्वाह गरेको दावी गर्नुभयो । ‘हाम्रो परिकल्पना नेपाली काँग्रेसलाई बलियो बनाएर अर्को निर्वाचनमा एक्लै चुनाव लड्ने हो, त्यो संकल्प तपाईको मनमा पनि छ, मेरो पनि छ,’ । उहाँले काँग्रेसले जितेमा खुशी हुने र हारेमा दुःखी नहुन आग्रह गदै पार्टीलाई बलियो बनाउने सवालमा कहिल्यै अलमल र दोधारमा नपर्न कार्यकर्तालाई सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका निर्वतमान केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले पार्टीलाई नयाँ विचार र सोचका साथ अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले पुरानो गति र सोंचबाट अब पाटी नचल्ने धारणा राख्दै पार्टीलाई गतिशिल बनाउन प्रशिक्षण कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने दावी गर्नुभयो । नेता जोशीले पार्टीलाई बलियो बनाउन आफ्ना कमीकमजोरीलाई स्वीकार गरेर अगाडि बढ्ने प्रयत्न गरिएन भने पार्टीले मौका दिएपनि जनताले स्वीकार नगर्ने जिकिर गर्नुभयो । दुई दिने प्रशिक्षण कार्यक्रमले कार्यकर्तामा एकतावद्ध गराउन, अनुशासन बनाउन, पार्टी प्रति विश्वास जगाउन र पार्टीका कार्यकर्तालाई क्रियाशिल बनाउनका लागि प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्ने काँग्रेस नेता जोशीको धारणा थियो ।
कार्यक्रममा नेपाली काँग्रस गण्डकी प्रदेशका सह–महामन्त्री रामचन्द्र जोशीले काँग्रेसमा उत्पन्न निरासालाई आसामा परिणत गर्नुपर्ने वताउँदै अब काँग्रेसलाई नयाँ सिराबाट संचालन गर्ने समय आएको धारणा राख्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पूर्व सभापति नवराज गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । नेपाली काँग्रेस पर्वतका पार्टी सभापति युवराज जोशीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य पार्टी उपसभापति एवं प्रशिक्षण विभागका संयोजक डा. चुडामणि शर्माले गर्नुभएको थियोभने कार्यक्रमको संचालन पाटी सचिव अशोक उच्चै ठकुरी र अर्का सचिव गुप्तनिधि शर्माले गर्नुभएको थियो । कार्यकर्ताको माग बमोजिम पार्टीको प्रशिक्षण विभागले यही चैत्र २७ र २८ गते कुश्मामा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । प्रशिक्षणमा नेपाली काँग्रेसको सांगठनिक आधार ः विगत र वर्तमानसँगै लोकतान्त्रिक नेतृत्वको आचरण र व्यवहार, सांगठनिक सुदृढिकरण र कार्यकर्ताको दायित्वको नेपाली काँग्रेसको सरकारको नेतृत्वमा भएका विकासका आधारः विगत र वर्तमान सँगै मुलुकको आर्थिक समृद्धि र विकासका लागि काँग्रेसको आगामी कार्यदिशाको विषयमा प्रशिक्षण संचालन भएको छ ।
प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, प्रदेशसभाका पदाधिकारीहरु, ७ वटा पालिकाका सभापतिहरु र भातृ तथा सुभेच्छुक संघसंस्थाका प्रमुखहरु सहभागी भएका छन् । प्रशिक्षणलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मिन विश्वकर्मा, केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखेरल, डा. जगदिशचन्द्र पोखरेल र बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले सहजीकरण गरिरहनु भएको वताइएको छ ।







