पर्वत/नेपाली काँग्रेस पर्वतका पार्टी सभापति एवं काँग्रेस युवा नेता युवराज जोशीले रूखको जरामा पानी हाल्ने र रूखको जरा काट्नेहरूबीच फरक छुट्याउन काँग्रेस कार्यकर्तालाई आग्रह गर्नुभएको छ । सभापति जोशीले नेपाल विद्यार्थी संघको ५४ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पर्वतले आयोजना गरेको विचार गोष्ठीलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै आज उक्त कुरा वताउनु भएको हो । उहाँले काँग्रेसमा सँधै अवसर लिने तर भोट सूर्यमा हाल्नेहरूलाई पहिचान गरि व्यक्ति अनुसारको व्यवहार गर्न नेवि संघलाई सुझाव समेत दिनुभएको थियो । सभापति जोशीले आफू काँग्रेसमा कुराभन्दा काम गर्ने सभापति भएकोले काँग्रेसका प्रत्येक कार्यकर्ताको अफ्ठ्यारोमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । उहाँले देशको राजनीतिक परिवर्तनका निम्ती नेपाल विद्यार्थी संघको ठुलो भुमिका रहेको बताउँदै देशमा राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्नका साथै अन्य आन्दोलनमा पनि नेविसंघको ऐतिहासिक भुमिका रहेको दावी गर्नुभयो ।
सभापति जोशीले विद्यार्थी राजनीति देखी नै अग्रसर भएको व्यक्ति भोलि देशको उच्च तहसम्म पुग्ने हुँदा शिक्षासँगै राजनीतिप्रति पनि विद्यार्थीले चासो दिनुपर्ने बताउनुभयो । उहाँले नेपाली काँग्रेस पर्वतले पार्टीका सबै भातृ तथा शुभेच्छुक संघ संगठनहरुलाई परिचालन गरि पार्टीलाई रचनात्मक ढंगले अघि बढाउन लागिरहेकोले पार्टी निर्माणको अभियानमा कुनै आग्रह पूर्वाग्रह नराखी काम गर्न निर्देशन दिनुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति डाक्टर चूडामणि शर्माले काँग्रेस कार्यकर्तालाई पार्टी अनुशासनमा रहन सुझाव दिँदै पार्टीको संस्थागत सुदृढीकरणका लागि लाग्न सबै नेता तथा कार्यकर्तालाई सुझाव दिनुभएको थियो । सोही कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति शिवप्रसाद सुवेदीले नेपाली काँग्रेसभित्र पर्वतमा गलत र नकरात्मक टिप्पणी गर्ने प्रवृत्ति बढ्दै गएको वताउँदै त्यस्ता गतिविधिलाई निरुत्साहित गर्न नेवि संघले पनि उपयुक्त भूमिका खेल्नुपर्ने वताउनु भयो ।
कार्यक्रममा नेपाल विद्यार्थी संघ पर्वतका संस्थापक अध्यक्ष एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि कुलप्रसाद उपाध्याय, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष लेखनाथ पौडेल, नेपाली काँग्रेसका जिल्ला सदस्य ओमप्रसाद शर्मा घायल, नेपाली काँग्रेस प्रदेश क का सभापति राजकुमार क्षेत्री, प्रदेश सभा ख का सचिव ठाकुर रसाइली, नेपाली काँग्रेस कुश्मा नगरका सभापति किशोर भण्डारी, नेपाल विद्यार्थी संघ पर्वतका पूर्व अध्यक्ष मिलन सुवेदी, नेपाल महिला संघ पर्वतका अध्यक्ष मुना शर्मा लामिछाने, नेपाल ट्रेड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसी, नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष उत्तम अधिकारी, नेपाल विद्यार्थी संघ पर्वतका पूर्व अध्यक्ष सन्तोष पाठक, सौरभ चापागाईं पूर्व सभापति पृथ्वी नारायण क्याम्पस, गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति सतिश रेग्मी लगायतले बोल्नुभएको थियो।
नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष अजय पोखरेलको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन नेवि सघंका सचिव आरसी सुवेदीले गर्नुभएको थियो । नेवि संघले पूर्व अध्यक्षहरू सहित विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको छ ।









