काँग्रेसको विकल्प नरहेको भन्दै एमालेका जिल्ला सचिवालय सदस्य गौडेल नै काँग्रेसमा प्रवेश

पर्वत/देशको सुशासन र समृद्धिको लागि देशमा अब काँग्रेसको विकल्प नरहेको भन्दै फलेवास नगरपालिकाका एमालेका प्रभावशाली नेता टिकाराम गौँडेल नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । नेकपा एमालेका जिल्ला सचिवालय सदस्य एवं फलेवास नगरपालिका ४ का पूर्व वडाध्यक्ष गौँडेल मुडिकुवामा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको हो । गौँडेलसंगै नेकपा एमालेका संगठित सदस्य रामप्रसाद गौँडेल पनि नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । दुबै जनालाई नेपाली काँग्रेसका नेता एवं प्रतिनिधीसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशी, प्रदेशसभा सदस्य पदका उम्मेदवार ऋषिकेश तिवारी, नेपाली काँग्रेसका जिल्ला सभापति यूवराज जोशी लगायतले पार्टीमा स्वागत गर्दै अबिर मालाले स्वागत गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधीसभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले यो निर्वाचन प्रतिगमनको पक्षमा लाग्ने र लोकतन्त्रको पक्षमा लाग्ने बीचको लडाईं भएको बताउनुभयो । नेता जोशीले २०७४ सालमा दुई तिहाई मत पाएको एमालेले सरकार ढाल्ने, संविधान मिच्ने र निरकुंश शासन लागु गर्ने दुस्साहस गरेको स्मरण गर्दै अव एमालेलाई सरकारको नेतृत्व दिनुस भन्दै मत माग्ने नैतिकता नरहेको बताउनुभयो । नेकपा एमालेका इमान्दार कार्यकर्तालाई नेपाली काँग्रेसमा प्रवेश गर्न जोशीले आव्हान समेत गर्नुभयो । एमालेमा बोल्न पाउने अधिकार समेत नरहेको भन्दै जोशीले काँग्रेसमा आवद्ध हुन आव्हान गर्नुभएको हो । प्रदेशसभाका उम्मेदवार ऋषिकेश तिवारीले आफु संधै त्याग र तपस्या गर्दै अहिले आएर उम्मेदवार भएको भन्दै यसपाली पर्वतबासीको अपार मायाले साँसद बनेर जिल्लाको विकास गर्ने अपेक्षामा रहेको बताउनुभयो ।

आफ्नो जन्मभूमीमा आएर बोल्दै गर्दै भावविह्वल भएको बताउँदै तिवारीले मुडिकुवावासीहरुको अपार माया र सद्भाव आफुले पाउनेमा आशाबादी रहेको सुनाउनुभयो । पर्वत जिल्लाका दक्षिण भेगको भ्रमणपछि फर्किँदा गाउँमा खानेपानी, सडक, स्वास्थ्य, शिक्षा लगायतको विकराल समस्या देखिएको तिवारीले बताउनुभयो । नेपाली काँग्रेसका जिल्ला सभापति यूवराज जोशीले नेकपा एमालेमा बादशाहका रुपमा रहेका टिकाराम गौँडेल नेपाली काँग्रेसमा प्रवेश गर्नुले गठबन्धनका उम्मेदवारको जीतमा थप सहज भएको दाबी गर्नुभयो ।

उहाँले पर्वतको समग्र विकासमा गठबन्धनका दलले खेलेको भूमिका नागरिकले राम्रो संग बुझेको हुनाले गठबन्धनका उम्मेदवार अत्यधिक मतले जित्ने विश्वास व्यक्त गर्नुभयो । नवप्रवेशी एमाले नेता गौँडेलले आफ्नो नेपाली काँग्रेसमा प्रवेश गठबन्धनका उम्मेदवार जिताउने एउटा अभियानको शुरुवात रहेको बताउनुभयो । नेकपा एमालेमा रहँदा कहिल्यै पनि सम्मान र संस्कारको राजनीति महसुस नगरेको भन्दै गौँडेलले काँग्रेसमा प्रवेश हुँदा हर्ष विभोर भएको प्रतिक्रिया दिनुभएको थियो ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रका नेता प्रेमबहादुर राना , नेपाली काँग्रेस प्रदेशसभा ‘ख’ का उपसभापति लक्ष्मीकुमारी गौँडेल, नेकपा एकिकृत समाजबादीका नेता बालमुकुन्द घिमिरे, लगायतले पनि बोल्नुभएको थियो । नेपाली काँग्रेस मुडिकुवाका सभापति कृष्णशर्मा गौँडेलको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य उपसभापति युवनाथ गौँडेल रेग्मीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव रघुनाथ गौँडेल सागरले गर्नुभएको थियो ।