पर्वत/कुश्मा नगरपालिकाले गएको एसइई परीक्षामा ३.६५ वा सो भन्दा माथिको जिपिए प्राप्त गरेका विद्यार्थीहरुलाई मासिक दुई हजार रुपैयाँ छात्रवृत्ति दिने भएको छ । अध्ययनमा अब्बल रहेका विद्यार्थीहरूको अध्ययनमा सघाउन तथा उनीहरूलाई थप हौसला प्रदान गर्नको लागि यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बताए।
चालु आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरे बमोजिम २०७८ सालको परीक्षामा सहभागी भई उक्त जिपिए ल्याएका विद्यार्थीहरूबाट नगरपालिकाले आवेदन माग गरेको छ। ‘नगर प्रमुखसँग विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम’ अन्तर्गत सुरु गरिएको यो छात्रवृत्ति सुविधामा सहभागी हुने विद्यार्थीले मङ्सिर १ गतेसम्ममा ग्रेड सिटको प्रमाणित प्रतिलिपि, कक्षा ११ मा भर्ना भएको विद्यालयको प्रमाण, विद्यार्थीको बैङ्क खाताको विवरण र एसइई परीक्षामा समावेश भएको भनी विद्यालयले लेखी पठाएको सिफारिस नगरपालिकाको कार्यालयमा पेस गर्नुपर्ने भनिएको छ।
यो सुविधा पाउनको लागि कुश्मा नगरपालिकामा रहेका १८ वटा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भएको हुनुपर्ने सर्त राखिएको छ। सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गइरहेकाले त्यसलाई निरुत्साहित गर्नको लागि कुश्मा नगरपालिकाका सामुदायिक विद्यालयबाट एसइईमा उक्त जिपिए ल्याएका विद्यार्थीलाई मात्रै सुविधा दिइने प्रमुख प्रशासकीय अधिकृत गुरुङ बताउँछन्।
‘सामुदायिक विद्यालयमा अध्ययन गरेको विद्यार्थीलाई सहयोग होस, उसको अध्ययनमा थप उत्प्रेरणा मिलोस् भनेर यो कार्यक्रम स्वीकृत भएको थियो। सोही अनुसार कार्यान्वयन हुन लागेको छ। यसले सामुदायिक विद्यालयमा अध्ययन गर्नको लागि पनि विद्यार्थीलाई प्रेरणा दिने छ,’ उनले भने, ‘वर्षमा २४ हजार रुपैयाँ आउनु पनि विद्यार्थीको लागि राम्रो हो। कुश्मा नगरपालिकाका १८ वटा मावि बाहेक अन्यत्रबाट उत्तीर्ण भएकाको हकमा यो कार्यक्रम लागू हुँदैन।’
अहिलेसम्म सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयले ३.६५ वा सो भन्दा माथिको जिपिए ल्याएका ११ जना विद्यार्थीहरुको सिफारिस नगरपालिकाको कार्यालयमा पुगेको भए पनि अरू विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू भने सम्पर्कमा गएका छैनन्।
नगर सभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको नगर प्रमुख रामचन्द्र जोशी बताउँछन्। सामुदायिक विद्यालयबाट एसइई परीक्षामा समावेश हुने कतिपय विद्यार्थीहरु गरिब तथा विपन्न अवस्थाका हुने भएकाले सामुदायिक विद्यालयका लागि मात्रै कार्यक्रम लागू गरिएको उनको भनाई छ।
यस्तो भत्ता एसइई पास भएर कक्षा १२ को पढाई नसकिने बेला सम्म दिइने तथा कक्षा ११ बाट उत्तीर्ण हुन नसके छात्रवृत्ति भत्ता कटौती हुने गरी कार्यविधि बनाइएको पनि नगर प्रमुख जोशीले बताए।
थाहखबरबाट साभार






