काँग्रेसको प्रदेशसभा (क)को भेलाले गर्यो- ३१ वटै वडामा पार्टी संगठनलाई जागरूक गराउने निर्णय

पर्वत/नेपाली काँग्रेस प्रदेशसभा(क) पर्वत अन्तरगतका नगरकार्यसमिति र गाउँकार्यसमिति सहित ३१ वटै वडाका सभापतिहरूबीचको संयुक्त भेला कुश्मामा सम्पन्न भएको छ । भेलामा विभिन्न पदमा रहेका नेताहरुले काँग्रेसको संगठन मजवुत बनाउने सन्दर्भमा आफ्ना राय प्रस्तुत गरेका छन् । उनीहरुले भावी योजनाको बारेमा छलफल र अहिलेसम्म भएका कार्यहरुको समिक्षा पनि गरेका छन् । सहभागीहरुलाई सम्बोधन गर्दै नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई देशको पहिलो पार्टी बनाउन भइ रहेको प्रयास प्रति खुसि हुँदै २०१५ सालमा पार्टीले प्राप्त गरेको बहुमत आफ्नो कार्यकालमा हासिल गराउने ठोकुवा गर्नुभयो । उहाँले १४ औं महाधिवेशनको आन्तरिक प्रतिस्पर्धाको प्रतिशोध कसैसँग पनि नरहेको दावी गर्दै जोशीले काँग्रेसमा सामूहिक निर्णय र अभियानको सुरुवात गर्ने गरि पार्टी अगाडी बढ्ने अठोट व्यक्त गर्नुभएको थियो । सभापति जोशीले भाषणमा भन्दा काममा ध्यान दिन पार्टीका नेताहरुलाई निर्देशन दिनुभयो भने सकरात्मक सोचको विकास गर्न सबैलाई अपील गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापतिद्धय डा चुडामणी शर्मा र शिवप्रसाद सुवेदी, जिल्ला सचिव गुप्तनिधि शर्मा, सहसचिव तिलक भुषाल,नेपाल ट्रेड युनियन काँग्रेसका जिल्ला सभापति सुरेन्द्र केसी, नेपाल महिला संघका जिल्ला सभापति मुना शर्मा लामिछाने, कुश्मा नगरसभापति किशोर भण्डारी, जलजलाका सभापति इन्दुप्रकाश पौडेल, मोदीका सभापति निर्देश लामिछाने, सहित ३१ वटा वडाका सभापतिहरु, मोदी ,जलजला र कुस्मा नगरपालिका अन्तर्गत नेपाली काँग्रेसका भातृ संगठनका प्रतिनिधिहरुले सभामा आफ्नो सुझाव राख्नुभएको थियो ।

नेपाली काँग्रेस पर्वत प्रदेश सभा ‘क’ सभापति राजकुमार क्षेत्रीले भेलाको सहजिकरण गर्दै ‘घरघर जाउँ, नेपाली काँग्रेस जिताउँ’ अभियान संचालनको मिति छिट्टै तय हुने बताउनुभयो । उहाँले हरेक गाउँमा काँग्रेसको मजवुत संगठन निर्माणका लागि आफु जुनसुकै त्याग गर्न तयार रहेको भन्दै पार्टीलाई योगदान दिने सबैले अवसर पनि पाउने बताउनुभयो । यस्तै कार्यक्रममा प्रदेश ‘क’ सचिब केशवप्रसाद उपाध्याय लगायतले बोल्नुभएको थियो ।