मोदी गाउँपालिकाले सार्वजनिक गर्यो ७२ करोड १८ लाखको बजेट

पर्वत/मोदी गाउँपालिकाको नवौ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम, आर्थिक ऐन,२०७८, विनियोजन ऐन, २०७८ बार्षिक बजेट तथा योजना पारित गरेको छ ।
गाउँ सभाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि कुल रू ७२ करोड १८ लाख ६४ हजारको बजेट पारित गरेको छ । जसमा ससर्त र सामाजिक सुरक्षासहित ४४ करोड ९३ लाख ६४ हजार चालू तर्फ र २७ करोड २५ लाख पूँजीगत तर्फ विनियोजन पारित गरिएको छ ।
नीति तथा कार्यक्रम र बजेटमा समावेश मुख्य बुँदाहरू निम्न छन ।

मोदी गाउँपालिकाले आगामी बजेटमा गाउँपालिका हाइड्रोको हव भएको र विद्युत रोयल्टी समेत प्राप्त हुने कुरा मध्यनजर गर्दै मोदी गाउँपालिकामा २० यूनिट सम्म मात्र खपत गर्ने सबै घर परिवारको २० युनिट सम्मको न्यूनतम शुल्क अनुदान स्वरूप तिर्ने निर्णय गरेको छ । त्यसैगरी ज्याला मजदुरी गर्ने श्रमिकको योगदानमा आधारित श्रमिक कल्याणकारी कोष सञ्चालन गर्ने, दलित र बालबालिका लक्षित सशक्तिकरणको कार्यक्रममा ४२ लाख रुपैया विनियोजन गरेको छ । त्यसैगरी सबै बालकक्षा सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम पारिश्रमिक रु.१५ हजार पु-याउन १ करोड २५ लाख विनियोजन गरिएको छ भने गाउँपालिकाको भवन निर्माण गर्न ९० लाख बिनीयोजन गरिएको छ । चित्रेमा सोप्रे खानीपानी सञ्चालन रु.८३ लाख, महेन्द्र शिखरी मावि समपुरकमा रु.१ करोड २० लाख बिनीयोजन गरिएको छ । त्यसैगरी वडा कार्यालय भवन निर्माण सम्पन्न गर्न बजेट विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत किसान बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

मोदीले करारमा रहेका कर्मचारीको कल्याणकोष सञ्चालन गर्ने गरी बजेट बिनीयोजन गरेको छ । गाउँसभामा नीति तथा कार्यक्रम र बजेट उपाध्यक्ष सेती महतले प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्षमा कोभिड संक्रमण देखिएपछि उपाध्यक्षको अध्यक्षमा सभा सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत क्षेत्रीले जानकारी दिनुभयो ।