पर्वत/ नेपाली काँग्रेस वडा कार्यालय थापाठानाको भवन निर्माणका लागि दाताले निशुल्क जग्गा प्रदान गरेका छन् । थापाठाना निवासी पार्टीका क्रियाशील सदस्य गुमानसिंह थापाले झण्डै २० लाख रूपैयाँ बराबरको एक रोपनी जग्गा सोमवार मालपोत कार्यालयबाट पार्टीका नाममा रजिष्ट्रेशन गरिदिनुभएको नेपाली काँग्रेसका युवा नेता एवं यातायात व्यवस्था विभागका केन्द्रीय सदस्य शिवप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
बहुमूल्य जग्गा पार्टी कार्यालयलाई निशुल्क उपलब्ध गराएकोमा जग्गादाता थापालाई नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालयमा सम्मान गरिएको छ । थापालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी र पार्टी सभापति खिमप्रसाद भुसालले सम्मान गर्नुभएको हो ।
सो सम्मान कार्यक्रममा यातायात विभागका केन्द्रीय सदस्य शिवप्रसाद सुवेदी, नेपाली काँग्रेसका जिल्ला सदस्य डाक्टर चूडामणि शर्मा, नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री, नेपाली काँग्रेसका जिल्ला सदस्य थमानसिंह थापा, फनपा २ का स्थानीय नेता पूर्णबहादुर भण्डारी लगायतको सहभागिता रहेको थियो । सोही अवसरमा अमेरिकाको मेरील्याण्ड राज्यका सांसद ह्यारी भण्डारीका पिता अमरबहादुर भण्डारीलाई समेत सम्मान गरिएको थियो ।