पर्वत/कुश्मा नगरपालिका २ खुर्कोटमा एक घर १ धारा कार्यक्रम शुभारम्भ भएको छ । वडाअध्यक्ष यदुनाथ शर्मा वास्तोलाको एकल पहल र प्रयासमा उक्त आयोजना लागु भएको हो । आयोजनाको आइतबार एक कार्यक्रमका विच कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख सीता काफ्ले लामिछानेले संयुक्त रुपामा शिलान्यास गर्नुभयो ।
आयोजनाको शिलान्यास गर्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले नगरभित्र एकघर एक धारा पुराउने योजना अनुरुप वडा नं २ मा कार्यक्रम संचालन भएको बताउनुभयो । प्रमुख जोशीले नगरवासीको समस्या समाधान र बिकासका काममा निरन्तर लागी परेको बताउँदै त्यहीअनुरुप खुर्कोटमा एक घर एक धारा आयोजना अंघि बढेको जानकारी दिनुभयो । त्यस्तै जोशीले बिकास निर्माणमा राजनीति नगर्न सबैलाई अनुरोध गर्नुभयो ।
कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले बिकासको अत्यावश्यक कुरा पानी रहेकाले यो महत्त्वपूर्ण कार्यक्रमलाइ सबै लागेर सम्पन्न गर्न अनुरोध गर्नुभयो । उपप्रमुख लामिछानेले नगरपालिका हरसमय जनताको साथमा रहेको बताउनुभयो । उहांले पानी जिवन भएकाले त्यसको सहि सदुपयोग गरि आयआर्जनमा समेत प्रयोग गर्न अनुरोध गर्नुभयो ।
आयोजनाका परिकल्पनाकार एवं कुश्मा नगरपालिका वडा नं २ का वडाअध्यक्ष यदुनाथ वास्तोलाले आफ्नो चुनावी कार्यक्रममा वडाका विभिन्न ठाउँमा पुग्दा सबै जनताले पानीको समस्या देखाएको स्मरण गर्दै आफु निर्वाचित भएको दिनदेखिनै खटेर वडामा खानेपानीको समस्या समाधान गर्न लागेको वताउनु भयो । नगरपालिका मार्फत निरन्तर फलोअप गरेकाले आज उक्त कार्यले सार्थकता पाएको वडाअध्यक्ष वास्तोलाको दाबी थियो । अध्यक्ष वास्तोलाले आयोजना संचालन गर्न सहयोग गर्ने सम्पुर्ण निकायलाई धन्यवाद दिंदै यो कार्यक्रमलाइ सबै मिलेर सफल पार्न अनुरोध गर्नुभयो ।
नेपाल सरकारको विशेष खानेपानी आयोजना अन्तर्गत यो कार्यक्रम संचालन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय बाग्लुङका इन्जिनियर राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो । उक्त योजनाका लगि नेपाल सरकारबाट ७ करोड ८० लाख २ हजार विनियोजन भएको हो । त्यस्तै जनसहभागिताबाट ४ करोड ३ लाख ८९ हजार गरी कुल ११ करोड ५८ लाख ९१ हजार लागतमा खानेपानी योजना सम्पन्न हुने डिभिजन इन्जिनियर न्यौपानेले बताउनुभयो ।
कार्यक्रममा नेकपा पार्टी प्रतिनिधि कृष्णबहादुर नेपाली, नेपाली कांग्रेस पर्वतका सदस्य सरस्वती शर्मा जिज्ञासु लगायतले बोल्नुभएको थियो । खानेपानी उपभोक्ता समिती उपाध्यक्ष घनराज पौडेलको सभापतित्व भएको कार्यक्रममा संचालन खानीपानी उपभोक्ता समिती सचिब शेषराज रेग्मीले गर्नुभएको थियो भने स्वागत उपभोक्ता समितीका सहसचीव रबिलाल शर्माले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा उपभोक्ताको उपस्थिति रहेको थियो । योजनाबाट वडाका ६ सय ७२ घरधुरीका ३६ सय ३९ जनसंख्या लाभान्वित हुनेछन् । यो कार्यक्रम वडा भित्रको सवैभन्दा ठुलो कार्यक्रम रहेको जनाईएको छ । आयोजना सम्पन्न भएपछि २० वर्ष सम्म खानेपानीको समस्या समाधान हुने छ ।