कर्मचारीहरू कसैको बधुँवा मजदुर होइनन्, राष्ट्रसेवक हुन् – कांग्रेस नेता जोशी

102

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका केन्द्रीय संयोजक अर्जुनप्रसाद जोशीले निजामती कर्मचारीहरू कुनै पार्टीको बँधुवा मजदुर नभएर जिम्मेवार राष्ट्रसेवक भएकोले कुनै पार्टीको प्रभावमा नपरी जनताको सेवामा समर्पित हुन आग्रह गर्नुभएको छ । नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतको आयोजनामा सोमवार भएको अवकाशप्राप्त कर्मचारीहरूको विदाई तथा नवआगन्तुक कर्मचारीहरुको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै नेता जोशीले उक्त कुरा वताउनु भएको हो ।

काँग्रेस नेता जोशीले समायोजनका नाममा अहिले राज्य आतंक चलिरहेको उल्लेख गर्दै त्यसबाट विचलित नहुन कर्मचारीहरूलाई आग्रह गर्नुभएको थियो । पार्टीलाई संकट परेको वेला र पार्टी सरकार बाहिर भएको बेला सांगठनिक हितमा काम गर्ने कर्मचारीहरूको पार्टीले उच्च मूल्यांकन गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो । नेता जोशीले विहान १० बजेदेखि बेलुका ५ बजेसम्म जनताको पक्षमा काम गर्न र बाँकी समयमा लोकतन्त्रमा आस्था राखेकै कारण सरकारबाट अफ्ठ्यारो पार्ने काम भए त्यो अन्यायका विरुद्ध काँग्रेसले सशक्त प्रतिकार गर्ने विश्वास दिलाउनु भएको छ ।

एक अर्को प्रसंगमा बोल्दै नेता जोशीले आधिकारिक ट्रेड युनियनको निर्वाचनमा पूर्ण प्रतिबद्धताका साथ लागेर काम गर्न सबै राष्ट्रसेवकहरुलाई अनुरोध गर्नुभएको छ । केन्द्रीय सदस्य जोशीले अवकाश प्राप्त कर्मचारीहरूको दक्षता र क्षमतालाई पार्टीले पर्खिरहेको वताउँदै सेवा निवृत्त जीवनलाई लोकतन्त्रको मूल्य र नेपाली काँग्रेसको सांगठनिक हितमा समर्पित भएर लाग्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले नेपालको लोकतान्त्रिक आन्दोलनमा गौरवमय इतिहास बोकेको पार्टी नेपाली काँग्रेस भएको उल्लेख गर्दै लोकतन्त्रमा जीत र हारको जोडघटाउका आधारमा निजामती प्रशासनलाई ध्वस्त बनाउने वर्तमान सरकारको रवैयाप्रति आपत्ति जनाउनुभएको थियो । सभापति भुसालले निजामती कर्मचारी युनियन संघको सदस्य भएको आधारमा कोही कर्मचारी अन्यायमा परेमा त्यो कर्मचारीको सम्पूर्ण जिम्मा नेपाली काँग्रेसले लिने विश्वास दिलाउँदै पूर्ण निष्ठा र गौरवका साथ लोकतन्त्रको पक्षमा समर्पित हुन सबै राष्ट्रसेवकहरुलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघकाकेन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका संयोजक शिब शर्मा अधिकारीले विगतको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा निजामती कर्मचारी युनियन संघमा आस्था राख्ने कर्मचारीहरूबीच एकता र निष्ठाको अभावका कारण पराजय व्यहोर्नु परेको वताउँदै आसन्न सिविए निर्वाचनमा एक ढिक्का भएर कर्मचारी युनियन संघको पक्षमा मतदान गर्न अपिल गर्नु भएको थियो । गण्डकी प्रदेश चुनाव परिचालन समितिका संयोजक समेत रहेका अधिकारीले वर्तमान सरकारबाट प्रजातन्त्रमा विश्वास गर्ने कर्मचारीहरूलाई देशैभर पेल्ने काम भएकोमा दुख व्यक्त गर्दै अबको निर्वाचनबाट कर्मचारीका पेशागत मुद्दामा समर्पित हुने सक्षम र कुशल नेतृत्व चयन गर्न अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस पर्वतका सचिव अशोक उचै ठकुरी, नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष सुरेन्द्र केसी, नेपाल निजामती कर्मचारी युनियनका पूर्व केन्द्रीय सदस्य एवं नेपाली काँग्रेसका पर्वतका जिल्ला सदस्य देवीप्रसाद विलासी, आधिकारिक ट्रेड युनियन पर्वतका उपाध्यक्ष सेवा निवृत्त लेखा अधिकृत राम शर्मा लामिछाने लगायतले बोल्नुभएको थियो भने सोही कार्यक्रममा कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, पूर्व अध्यक्ष ओमप्रसाद घायल, नेपाल निजामती कर्मचारी युनियन संघका पूर्व केन्द्रीय सदस्य कमलराज पौडेल, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय सदस्य तेजेन्द्र पौडेल, नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतका पूर्व अध्यक्ष ध्रुवप्रसाद सुवेदी लगायतको सहभागिता थियो ।

नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतका अध्यक्ष यामप्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन युनियन संघका सचिव अर्जुन चापागाईंले गर्नुभएको थियो भने स्वागत मन्तब्य जलजला गाउँपालिकाका सामाजिक विकास अधिकृत लीलाधर सुवेदीले गर्नुभएको थियो ।