जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको २३ औं स्मृति दिवसमा पर्वत काँग्रेसद्धारा श्रद्धाञ्जली

142

पर्वत/नेपाली राजनितिका प्रखर व्यक्तित्व तथा लौह पुरुष गणेशमान सिँहको २३ औँ स्मृति दिवस पर्वतमा मनाईएको छ । दिवसको अवसरमा शुक्रबार विहान काँग्रेस पार्टी कार्यालयमा सिँहको तस्वीरमा माल्यार्पण गरिएको थियो । प्रजातन्त्र पुनस्थापनाका लागि भएको २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहलाई लौह पुरुषको उपमा दिइएको हो ।

सिँहको स्मृतिमा आयोजित माल्यार्पण सभालाई सम्बोधन गदै नेपाली काँग्रेस पर्वतका पार्टी सचिव अशोक उच्चै ठकुरीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गिय सिँहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । अनुकुलताको राजनितिमा आउनेहरु प्रतिकुल समयमा कुलेलाम ठोक्ने उहाँको भनाई नेपाली राजनितिमा अझै पनि सान्दर्भिक रहेको ठकुरीले जिकिर गरे । राजनितिमा नैतिकता थपियो भने समाजवाद हुन्छ, नैतिकता हराए तानाशाही हुन्छ सिँहले भन्नुभएको भनाई जोड्दै ठकुरीले भन्नुभयो,‘अहिलेको सरकार तानाशाही बाटोमा हिँडिरहेको छ, यो एक दिन आफै पतन हुन्छ ।’ठकुरीले वर्तमान सरकारले जनताको समस्यालाई चित्तबुझ्दो तरिकाले समाधान गर्न नसकेको आरोप लगाए ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता डाक्टर चुडामणि शर्माले स्वर्गिय गणेशमान सिँहबाट नेपाली राजनीति कर्मीले सिद्धान्त र आदर्शको राजनिति गर्ने प्रेरणा लिए देश र नागरिकको हित हुने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, प्रेस युनियन पर्वतका उपाध्याक्ष रोशन तिवारी र प्रेस युनियन पर्वतका सचिव साजन परियार लगायतको उपस्थिती रहेको थियो ।