नेवि संघ फलेवासद्वारा पहिरोपीडित परिवारलाई आर्थिक सहयोग प्रदान

164

पर्वत/विद्यार्थीको हकहित र संरक्षणमा आवाज उठाउँदै आएको नेपाल विद्यार्थी संघ पछिल्लो समय गरिव, दिनदुखी र प्राकृतिक विपद्वारा समस्यामा परेका नागरिकको सहयोगार्थ जुट्न थालेको छ । नेपाली काँग्रेसको भातृ संस्थाका रुपमा स्थापित नेपाल विद्यार्थी संघ फलेवास नगर कार्य समितिले शुक्रवार बाढि पहिरोबाट पीडित बनेका यहाँको एक परिवारलाई आर्थिक रकम प्रदान गरेको छ । नेवि संघ फलेवासले फनपा –४ मुडिकुवा निवासी नविन विकको परिवारलाई नगद २० हजार ६ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

नेपाली काँग्रेस मुडिकुवाका वडा सभापति पुनाखर गौडेल, नेपाल विद्यार्थी संघ पर्वतका सचिव बरदान पौडेल, नेपाल विद्यार्थी संघका जिल्ला सदस्य शिशिर शर्मा पौडेल, नेपाल विद्यार्थी संघ कुश्मा नगरपालिका सभापति अजय पोखरेल, नेपाल तरुण दल फलेवासका नगर सभापति दिनेश लामिछाने, प्रेस युनियन पर्वतका सचिव साजन परियार, नेवि संघ फलेवासका सचिव गोविन्द तिवारी, नगर सदस्य अमृत अधिकारी, रविन पौडेल लगायतको उपस्थितीमा सो रकम नेवि संघ फलेवासका सभापति सन्तोष पाठकले हस्तान्तरण गर्नुभएको थियो ।

विद्यार्थीको हक हितमा काम गदै आएको नेवि संघले दैविक प्रकोपमा परेका नागरिकलाई पनि सहयोग गर्नुपर्छ भन्ने हेतुले खार्जा खर्च कटाएर बाढि पीडित विक परिवारलाई आर्थिक रकम हस्तान्तरण गरेको सभापति पाठकले गण्डकी संचारलाई जानकारी दिनुभयो । बाढि पहिरोबाट दुखी बनेका परिवारलाई मलम लगाउन खोजिएको उहाँको भनाई छ । भदौ २८ गते आएको बाढि पहिरोवाट विककी तिन बर्षिया छोरी निकिता विकको मृत्यु भएको थियो ।यस अघि नेपाली काँग्रेस पर्वतले पनि नविन विकको परिवारलाई ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।