पर्वत/जलजला गाउँकार्यपालिकाले कोरोना भाईरस अर्थात कोभिड-19 को महामारीबाट आफ्ना नागरिकलाई सुरक्षित राख्न नयाँ रणनीतिक योजना अघि सारेको छ । गाउँकार्यपालिकाको आइतबार बसेको बैठकले कोरोनाको उच्च जोखिमबाट सतर्क रहन सबै गाउँपालिकाबासीमा आग्रह गरेको छ भने बैठकले गाउँपालिकाका ११ वटा नाकामा दुईजनाको दरले २२ जना स्वयंसेवक परिचालन गर्ने निर्णय समेत गरेको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिनुभयो ।
बैठकले देश तथा विदेशका जुनसुकै ठाउँबाट गाउँपालिकामा भित्रिने व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । बैठकले मोहनचोक-माझफाँट-लेकफाँट सडक, मिलनचोक- लेकफाँट-शालिजा सडक, मिलनचोक-धाइरिङ सडक, लस्ती-धाइरिङ सडक, बनौ भित्रिने सडक, फर्से-नाङ्लीवाङ् सडक, खनियाघाट-नाङ्लीवाङ् सडक र दमुवाखोला-नाङ्लीवाङ् सडकका मूख्य नाकाहरूमा स्वयंसेवक परिचालन गर्ने निर्णय हो । यसरी परिचालन गरिएका स्वयंसेवकहरूलाई वडा कार्यालयबाट संचार र खानाखर्च वापत दिनको पाँचसयका दरले पारिश्रमिक दिने निर्णय समेत भएको अध्यक्ष मल्लले वताउनु भयो । त्यसैगरी निर्णय कार्यान्वयन भए/नभएको निगरानी गर्न गाउँपालिका भित्रका कटुवाललाई परिचालन गर्ने र उनीहरूलाई प्रोत्साहन स्वरुप एकमहिनाको पाँचहजार रूपैयाँ सहयोग गर्ने निर्णय भएको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।
यसैगरी आइतवारकै कार्यपालिकाको बैठकले गाउँपालिकाबाट संचालित काम कार्वाहीका बिषयमा सामाजिक सञ्जालमार्फत भ्रामक र आधारहीन टिका टिप्पणी गर्ने व्यक्तिहरूको पहिचान गरि साइबर कानून बमोजिम कारबाहीका लागि सिफारिस गर्ने समेत निर्णय गरेको वताइएको छ ।






