कोरोनाको उपचार र नियन्त्रणमा सरकारको भूमिका कमजोर भएको काँग्रेस नेता जोशीको टिप्पणी

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद अर्जुनप्रसाद जोशीले कोरोना उपचार पद्दतिमा सरकारको भूमिका निकै कमजोर भएको टिप्पणी गर्नुभएको छ । नेता जोशीले सरकारकै लापरबाहीले नेपालमा पनि कोरोना भाइरसको भयावह अवस्था सुरु भएको दावी गर्नुभएको छ । पछिल्लो हप्ता दुई सय ६६ प्रतिशतले कोरोना भाइरस संक्रमणका मान्छे भेटिनु सरकारले कोरोनाबाट कोही मर्दैनन् भनेर आत्मरतिमा रमाउनु भएको काँग्रेस नेता जोशीले ठहर छ । शंकास्पद देखिएकालाई पिसिआर परिक्षण नै नगरी राख्ने कामले अवस्था भयावह हुन थालेको उहाँको विश्लेषण छ । ‘एक हप्तामा कोरोना संक्रमितको बृद्धि, दैनिक संक्रमितको संख्या र कोरोना भाइरसको बिस्तारको स्वरुप हेर्दा कुनैपनि जिल्ला जोखिममुक्त छ भन्न सक्ने स्थिति देखिदैन’ जोशीले भन्नुभयो –‘त्यसैले पिसिआर परिक्षणको दायरालाई ब्यापक बनाउन आवश्यक छ ।’

काँग्रेसका प्रभावशाली नेता जोशीले सबै जिल्लामा पिसिआर परिक्षणको ब्यवस्था गरी ब्यापक बनाउन, क्वारेन्टाइनस्थल नै संक्रमणस्थल बन्न नदिनका लागि मापदण्डअनुसार बनाउन, एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदा परिक्षणपछि मात्रै प्रबेश अनुमति प्रदान गर्न, स्थानीयस्तरमा पनि एउटा गाउँबाट अर्को गाउँमा प्रवेशलाई अनुगमन गर्न, जनता घर भित्र थुनिने पहुंचवाला सरकारी पास् लिएर (जरुरी काम बाहेक) निस्कने अवस्था तुरुन्त रोकिनुपर्ने, सिमापारिबाट अब्यबस्थित र लुकिछिपी नेपाल प्रबेश गर्नेहरु नै अहिले संक्रमणको मुख्य श्रोत देखिएको हुँदा नेपाल आउन चाहने सिमामा रोकिएकाहरुलाई ब्यबस्थित रुपले ल्याएर क्वारेन्टाइनमा राखी परीक्षणको ब्यबस्था गर्न माग गर्नुभएको छ । अहिलेकै लकडाउनले सत्ताको रक्षा गरेपनि अन्तिममा सत्तासिनलाई पनि कोरोनाले नछोड्ने भएकोले जिम्मेबार र गम्भिर बन्न सरकारलाई नेता जोशीले आग्रह गर्नुभएको छ । उहाँले नेपालमा कोरोनाले खतराको साइरन बचाइसकेकोले सबैलाई सचेत बन्न र प्रयाप्त मात्रामा सावधानी अपनाएर घरमै बस्न समेत सबैलाई अपिल गर्नुभएको छ ।