जलजलामा निर्माणाधिन वीपी स्मृति भवनको पहिलो तला ढलान सम्पन्न

पर्वत/नेपाली कांग्रेस जलजलाद्वारा निर्माण गर्न थालिएको वीपी स्मृति भवनको पहिलो तला ढलान सम्पन्न गरिएको छ । लकडाउनको समयमा समेत भवनको निर्माण कार्यलाई निरन्तरता दिइएको छ । उक्त भवन निर्माणका लागि जलजला गाउँपालिकाले १० लाख रूपैयाँ सहयोग गरेको छ भने जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले पाँच लाख सहयोग गर्नुभएको छ । त्यसैगरी अन्य शुभेच्छुकहरुले समेत सहयोग गरिरहेका छन् ।

अध्यक्ष मल्लले भवन निर्माण सम्पन्न गर्नका लागि जलजलाका विभिन्न जनप्रतिनिधिहरु, पार्टीका भातृ तथा शुभेच्छुक संघ संस्थाहरू र देश तथा विदेशमा रहेका अन्य शुभचिन्तकहरुलाई समेत निर्माणाधिन वीपी स्मृति भवनको लागि सहयोग गर्न अपिल गर्नुभएको छ । पछिल्लो समय राजनीति र समाजसेवामा सक्रिय मल्ल नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष समेत हुनुहुन्छ । अध्यक्ष मल्लकै अग्रसरतामा स्वर्गीय मोहनबहादुर मल्लको परिवारले वीपी स्मृति भवनको लागि ९० लाख बराबरको जग्गा निशुल्क उपलब्ध गराएको थियो ।

भवन निर्माण समितिले मोहनचोकको एक रोपनी क्षेत्रफलमा तीनतलाको सुविधा सम्पन्न भवन निर्माण गर्ने लक्ष्यका साथ काम अघि बढाएको निर्माण समितिका संयोजक एवं नेपाली काँग्रेस जलजलाका संयोजक चन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो ।

निर्माणाधिन भवनको गत फागुन २७ गते नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्नु भएको थियो । स्वर्गीय मोहनबहादुर मल्ल नेपालको प्रजातान्त्रिक आन्दोलनका कुशल योद्धा र नेपाली साहित्यका उज्वल नक्षत्रमा रूपमा परिचित हुनुहुन्छ भने शैक्षिक र सामाजिक क्षेत्रमा उहाँको परिवारले समेत अग्रणी भूमिका खेल्दै आएको छ । वीपी स्मृति भवन निर्माण परिसरमै स्वर्गीय मोहनबहादुर मल्लको शालिक समेत निर्माण गरिने वताइएको छ ।