पर्वत/कोरोना विरूद्धको अभियानमा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णको सहयोग र सक्रियता अन्य जनप्रतिनिधिको तुलनामा धेरैनै अघि देखिएको छ । अध्यक्ष मल्लले यो महामारीमा आफ्नो गाउँपालिकाभित्रका नागरिकलाई मात्रै नभएर जिल्लाका अन्य स्थानीय तहका नागरिकको लागि समेत राहत र सहयोग गर्नुभएको छ । अध्यक्ष मल्लकै नेतृत्व र अग्रसरतामा कुश्मा नगरपालिकाभित्रका बिपन्न परिवारलाई बितरण गर्नेगरी विहिवार आठसय केजी तरकारी संकलन गरि कुश्मा नगरपालिकालाई हस्तान्तरण गरिएको छ । जलजला गाउँपालिका वडा नम्बर ६ शालिजाको सुवेदी कृषि फार्म र सापकोटा कृषि फार्मले उत्पादन गरी सहयोग गरेको तरकारी गाउँपालिकाले ढुवानी खर्च ब्यहोरेर कुश्मा नगरपालिकाका बिपन्न परिवारलाई बितरण गर्नेगरी कुश्मा नगरपालिकाको खाद्य सामाग्री बैंकलाई हस्तान्तरण गरिएको हो । उक्त तरकारी कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीलाई जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले आज हस्तान्तरण गर्नुभएको हो ।
जलजला गाउँपालिकाका सुबेदी र सापकोटा कृषि फार्मले उत्पादन गरेको बन्दा, साग, धनियासहितको तरकारी संकलन गरि कुश्मा नगरपालिका र अन्य बस्तीहरुमा सहयोग स्वरूप हस्तान्तरण गरिएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । शालिजादेखि कुश्मासम्म ल्याउनका लागि ढुवानी खर्च जलजला गाउँपालिकाले ब्यहोरेको थियो । लकडाउनको अवधिमा गरिब र बिपन्न परिवारलाई तरकारीजस्तो सामान्य कुरा पनि किन्नका लागि आर्थिक अभाव हुने भएकोले थोरै भएपनि यो सहयोले उनीहरुका लागि ठुलो राहत मिल्ने अध्यक्ष मल्लले बताउनु भयो । उहाँले अझै थप तरकारी बितरण गर्ने योजना रहेको पनि जानकारी दिनुभयो ।
यसैगरी जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले विहिवारनै कुश्मा नगरपालिकाको राहत कोषमा ब्यक्तिगत रुपमा ३० हजार रुपैयाँ नगद समेत प्रदान गर्नुभएको छ । उक्त रकम कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीलाई हस्तान्तरण गर्नुभएको हो । मल्लले यसअघि ब्यक्तिगत रुपमा जलजला गाउँपालिकाले स्थापना गरेको राहत कोषमा दुईलाख र नेपाली काँग्रेस महाशिला गाउँपालिकाले स्थापना गरेको राहत कोषमा ब्यक्तिगत रुपमा नगद ३० हजार रुपैयाँ प्रदान गरिसक्नुभएको छ ।
त्यसैगरि आजै जलजला गाउँपालिकाले जलजला वडा नम्बर ३ का गरिब तथा बिपन्नलाई राहत बितरण गरेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का अध्यक्ष देबेन्द्रबहादुर भण्डारी (रवि)ले जानकारी दिनुभयो ।