पर्वत/कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउनको समयमा विनाकारण बाहिर निस्किने ११ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । सोमबार पर्वत प्रहरीले सदरमुकाम कुश्माबजार लगायत अग्ला झोलुंगेपुलहरुबाट लकडाउन उल्लघंन गर्ने युवाहरुलाई नियन्त्रणमा लिएको हो । छिमेकी जिल्ला बागलुङमा दुई जनामा कोरोना संक्रमण देखिएसँगै थप सजगता अप्नाइएको पर्वतमा प्रहरीले समेत कार्बाही गर्न शुरु गरेको हो । सर्वसाधारणकै सुरक्षार्थ लकडाउन गरिएपनि पर्वतमा सर्वसाधारणबाटै पटकपटक उल्लंघन हुने गरेपछि एक्सनमा जान बाध्य भएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर विकास थापाले बताउनुभयो । यता जिल्ला प्रशासन कार्यालय पर्वतले समेत पटक पटक सर्वसाधरणका लागि सूचित गरिरहेको छ ।
त्यस्तै आइतबार स्वाब संकलन गरी पठाइएका ८ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल पर्वतमा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शिशिर देवकोटाले बताउनुभयो । विदेशबाट फर्किर होम क्वारेन्टिनमा रहेका व्यक्तिहरुको स्वाब परिक्षणका लागि पठाइएको र रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो । पर्वतका सोमबार पनि जलजला गाउँपालिका क्षेत्रमा रहेका थप ९ जनाको स्वाब परिक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको डाक्टर देवकोटाले बताउनुभयो । पर्वतमा हालसम्म २३ जनाको स्वाब परिक्षणका लागि प्रयोगशालामा पठाइएको छ । जसमध्ये १४ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने ९ जनाको रिपोर्ट आउने क्रममा रहेको छ ।