काठमाडौँ/प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोभिड–१९ नियन्त्रणका लागि सरकारले चालेका सम्पूर्ण कदममा साथ र समर्थन रहेको जनाउँदै १७ वटा सुझाव दिएको छ । कांग्रेसले शुक्रबार कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्रीमन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै तत्काल गम्भीर बन्नुपर्ने विषयमा सुझाव दिएको हो। प्रतिनिधिसभाका कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा अन्य सामग्री विदेशबाट अविलम्ब ल्याउन आग्रह गरिएको छ।
कोभिड–१९ फैलन नदिन लकडाउन (राष्ट्रव्यापी बन्द) अत्यावश्यक भएकाले यसलाई सफल बनाउन सुरक्षा निकाय र प्रशासनलाई सहयोग गर्नु सबै नागरिकको दायित्व भएको पनि कांग्रेसले जनाएको छ। लकडाउन सफल पार्न खटिएका सुरक्षा निकायलाई गुणस्तरीय मास्क र सुरक्षा उपकरणको व्यवस्था गर्न सरकारसँग कांग्रेसले आग्रह गरेको छ।
के–के छन् कांग्रेसका सुझाव?
विश्वमा फैलिएको कोरोना महामारी मानव सभ्यताका लागि शताब्दीकै ठूलो चुनौतीका रूपमा आइरहेको छ। यसको नियन्त्रणका लागि सरकार ज्यादै गम्भीर, संवेदनशील, दृढ र गतिशील हुनु जरुरी छ।
आम नागरिकले कोरोना नियन्त्रणका लागि सजगता र धैर्यता अपनाउनु आवश्यक छ। कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीप्रति राज्य र आम नागरिकको पूर्ण साथ र सहयोग जरुरी छ।
यस सन्दर्भमा आवश्यक चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्री व्यवस्था गर्न नसक्नु सरकारको अकर्मण्यता हो। यो ज्यादै जोखिमपूर्ण रहेको छ।
नेपाल सरकारले कोरोना नियन्त्रणसम्बन्धी चिकित्सक, नर्स र स्वास्थ्यकर्मीका लागि आवश्यक पीपीई (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट) लगायत चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा अन्य सामग्री विदेशबाट अविलम्ब आयात गर्न अत्यावश्यक छ।
कोरोना महामारी फैलन नदिन लकडाउन (राष्ट्रव्यापी बन्द) अत्यावश्यक कार्य हो। लकडाउनलाई सफल बनाउन सुरक्षा निकाय र प्रशासनलाई सहयोग पुर्याउनु सबै नागरिकको दात्यिव हो। सुरक्षा निकायलाई पनि गुणस्तरीय मास्क र सुरक्षा उपकरणको व्यवस्था गर्न नितान्त जरुरी छ।
यो महामारीलाई नियन्त्रण गर्न केन्द्रीय सरकारले प्रदेश सरकार र स्थानीय निकायहरूलाई समन्वयात्मक रूपमा अझै गतिशिल ढंगले परिचालन गर्न आवश्यक छ।
सातै प्रदेशमा कोरोना परीक्षण प्रयोगशाला यथाशीघ्र सञ्चालन गर्न जरुरी छ। यसका साथै सबै प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थासम्म स्वास्थ्य उपकरण र सामग्रीको तत्काल प्रबन्ध गर्न अत्यावश्यक छ।
कोरोना नियन्त्रणका लागि सामाजिक र निजी संघ/संस्थाले चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्री व्यवस्थाका लागि गरिरहेको पहललाई सकारात्मक रूपमा लिई सरकारले यसका लागि प्रोत्साहन गर्न र सहयोग पुर्याउन आवश्यक छ।
लकडाउनका कारणले दैनिक ज्यालादारी गर्दै जीवनयापन गरिरहेका श्रमिक, कृषि मजदुरलाई खाद्यान्न व्यवस्था गर्न स्थानीय निकाय, व्यावसायिक र सामाजिक संघसंस्था तथा राजनीतिकर्मीहरूले समन्वय गरी गतिशील भूमिका निर्वाह गर्न अत्यावश्यक भइसकेको छ।
छिमेकी मित्रराष्ट्र भारतमा समेत लकडाउन भइरहेको अवस्थामा यात्राका क्रममा भारतमा बिचल्ली परेका नेपालीको उद्धार र रक्षाका लागि सरकारी निकाय गम्भीर बन्न जरुरी छ।
संसारभरि छरिएर रहेका नेपालीको स्वास्थ्य र सुरक्षाका लागि हाम्रा कूटनीतिक निकायहरूले सक्रियता बढाउनु आवश्यक छ।
यो महामारी नियन्त्रण गर्न रातदिन खटिरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी धन्यवादका पात्र छन्। उनीहरूको जीवन रक्षा र स्वास्थ्य सुरक्षालाई सरकारले पहिलो प्राथमिकता दिनुपर्छ। अहोरात्र खटिरहेका सुरक्षाकर्मी, प्रशासन र स्थानीय जनप्रतिनिधिको मनोबल बढाउन सरकार र जनस्तरबाट साथ दिन जरुरी छ।
कोरोना नियन्त्रणका लागि नेपाल सरकारले सम्पूर्ण शक्ति केन्द्रीकृत गरेर लगाउन र अन्तर्राष्ट्रिय सहयोग तत्काल जुटाउन अपरिहार्य छ।
कोरोना महामारी नियन्त्रणका लागि सरकारले नेपालभरि नै लकडाउन गरिरहेका बेला दीर्घरोगी तथा नियमित रूपमा चिकित्सकको परामर्शमा औषधि सेवन गरिरहेका बिरामी तथा अन्य रोगका बिरामीलाई उपाचारको आवश्यक प्रबन्ध गर्न जरुरी छ।
दैनिक उपभोग्य खाद्य पदार्थ आपूर्तिको व्यवस्था गर्न एवं फोहोर व्यवस्थापन गर्न सम्बन्धित सरकारी निकायले सयममै ध्यान पुर्याउनु जरुरी छ।
नेपाल सरकारले कोरोना भाइरस (कोभिड) नियन्त्रणसम्बन्धी कार्य भोलि होइन, आजै गर्न जरुरी छ। सबै नेपाली जनताले सजगता, धैर्यता र संयमता अपनाउन जरुरी छ।
विश्वमा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारलाई हाम्रो पूर्ण साथ एवं सहयोग छ र सरकारले तत्काल उपरोक्त विषयमा गम्भीरतापूर्वक ध्यान दिएर उपयुक्त कदम चाल्न ध्यानाकर्षण गराउँछौं।






