पर्वत/नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको ३३ औ जिल्ला सभा तथा अधिवेशनको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले आज कुश्मामा उद्घाटन गर्नुभयो । अधिवेशनको उद्घाटन गर्दै पूर्व सांसद जोशीले प्रतिकुल परिस्थितिका वावजुद पनि मानवीय सेवा र विपत्तिमा रेडक्रसले खेलेको भूमिका प्रसंशनीय भएको वताउनु भएको थियो । उहाँले दैवी विपत्ति र प्राकृतिक प्रकोपदेखि द्वन्द्वमा परेका हरेक नागरिकको उद्धार र राहतका लागि पर्वत रेडक्रसले विगतमा भन्दा अझै सक्रिय भएर काम गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । संविधानसभा सदस्य जोशीले रेडक्रस साझा मान्यता वोकेको निष्पक्ष र परोपकारी संस्था भएकोले नेतृत्व पनि सर्वसम्मत चयन गर्न सुझाव दिनुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेलले विश्वबाट मानवता हराउँदै गएको वेला रेडक्रसकर्मीहरूले मानवीय पक्षका सात सिद्धान्तहरूलाई आत्मसात गरेर काम गर्न सुझाव दिनुभएको थियो । सोही कार्यक्रममा पूर्व सांसद ऋषिकेश तिवारीले रेडक्रस मानवकल्याणका लागि स्थापना भएको सामाजिक संस्था भएकोले राजनीतिक आग्रह पूर्वाग्रहबाट निरपेक्ष भएर मानवसेवामा लाग्न सुझाव दिनुभएको थियो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका संयोजक एवं निर्वाचन अधिकृत सूर्य ढकाल, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, नेपाली काँग्रेसका पार्टी सभापति खिमप्रसाद भुसाल, नेकपाका प्रतिनिधि गोविन्द पहाडी, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा पर्वत शाखाका पूर्व सभापति मथुराकूमार जोशी, नेपाल रेडक्रस सोसाइटी पर्वतका पूर्व सभापति सुन्दरप्रसाद जोशी, नेपाल रेडक्रस सोसाइटी पर्वतका पूर्व मन्त्री बसन्तबहादुर सिके, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका सदस्य धनेश्वर रेग्मी र नेपाल रेडक्रस सोसाइटी पैयु उपशाखाका सभापति तिलकप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन रेडक्रसका मन्त्री गोविन्दप्रसाद पराजुलीले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य उपसभापति डा चूडामणि शर्माले गर्नुभएको थियो । साथै रेडक्रसका सात सिद्धान्तहरूको बाचन अर्का उपसभापति ईन्द्रमान खत्रीले गर्नुभएको थियो ।






