सहिदहरूलाई राज्यले सम्झेन, तर पर्वत काँग्रेसले सम्झियो

पर्वत/परिवर्तनका निम्ति जीवन आहुती गर्ने सहिदहरूलाई राज्यले सम्मान नगरेपनि नेपाली काँग्रेसले भने एक कार्यक्रमको आयोजना गरी सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । नेपाली काँग्रेस पर्वतले सहिद दिवसको अवसरमा जनआन्दोलन २०६२/०६३ का सहिद गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण गर्दै लोकतन्त्रको स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।

सहिदको शालिकमा माल्यार्पण गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेपालको परिवर्तनको आन्दोलनमा सहिदहरुले पुर्याएको योगदान अविस्मरणीय रहेको वताउँदै सहिदहरूप्रति राज्यपक्षबाट उचित सम्मान हुन नसकेको धारणा राख्नु भएको थियो । काँग्रेस नेता जोशीले लोककल्याणकारी राज्यको निर्माण गर्ने सहिदहरूको सपना साकार पार्न र सहिद परिवारको समेत रेखदेखको जिम्मा राज्यले लिनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुसालले प्रजातन्त्र र लोकतन्त्रको स्थापनाका लागि बलिदान दिने सहिदहरू राष्ट्रका अमूल्य निधि भएको वताउँदै सहिदको सम्मान र सहिद परिवारको संरक्षण राज्यले गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा कुश्मा नगरपालिका नगर प्रमुख रामचन्द्र जोशी, सहिद गोविन्दनाथ शर्माका भाई देव शर्मा पौडेल र नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य डा चूडामणि शर्मा लगायतका व्यक्तिहरूले सहिदको तस्वीरमा माल्यार्पण गर्दै सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।