आवास निर्माणलाई पहिलो प्राथमिकतमा राख्न राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आग्रह

53

पर्वत/राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले भुकम्प पछिको पुनःनिर्माण कार्यलार्ई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय समिति पर्वतको दोस्रो वैठकलाई आईतवार साँझ सम्वोधन गर्दै अध्यक्ष तिमिल्सिनाले पर्वत जिल्लामा पुर्ण क्षतिमा रहेका पाँच हजार २ सय ६९ जनाको आवास निर्माणलाई पहिलो प्राथमिकतमा राख्न सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । पहिले निजि आवासलाई मापदण्ड अनुसार निर्माण गर्न ताकेता गर्नुहोस्, त्यसपछि सार्वजनिक भवन, विद्यालय, स्वास्थ्य चौकी, लगायतका संरचना निर्माणलाई ध्यान दिन निर्देशन समेत दिनुभयो ।

भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा पनि कतिपय पीडितहरु अझै आवास विहिन बन्नुपरेको बताउँदै तिमिल्सिनाले पूननिर्माणलाई अव द्रुत गतीमा लैजान सुझाव दिनुभयो । कुनै पनि वाहनामा निर्माणको काममा ढिलाई नगर्न तिमिल्सिनाले निर्देशन दिँदै अनुदान लिने प्रक्रियामा झण्झट, प्राविधिक अभाव र जनशक्तिको अभाव देखाउनु भन्दा कसरी समाधान गर्न सकिन्छ भन्नेतर्फ जनप्रतिनिधिहरु लाग्न जरुरी रहेको बताउनुभयो । अहिले मुलुकमा काम गर्नका लागि कुनैपनि समस्या नरहेको बताउँदै झिना मसिना समस्यालाई देखाएर कुनैपनि क्षेत्रमा ढिला सुस्तीगर्न नपाईने बताउनुभयो । उहाँले प्राविधिकहरुको समस्या पनि समाधान भैसकेकाले अब लाभग्राहिहरुलाई रोकिएको किस्ता भुक्तानी दिन, नयाँ गुनासाहरुको तल्काल सम्वोधन गर्न र छुटफुट भएकाहरुलाई पनि पुनः समावेश हुनेगरी काम गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले तीनै तहका सरकारले पुर्ननिर्माणलाई तीब्रता दिनुपर्ने बताउनुभयो । पूर्वाधार निर्माणका लागि अब कुनैपनि समस्या र जटिलता नरहेको बताउँदै निर्धारित विकास निर्माणका योजनाहरुलार्ई समयमै सम्पन्न गर्नका लागि सवैको सहयोग आवश्यक हुने बताउनुभयो । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले निजि आवास पुर्ननिर्माणका लागि सरकारले तोकेको समय सकिनै लागेकाले यसलाई तत्काल सम्पन्न गराउनका लागि जनप्रतिनिधिहरुको ठुलो सहयोग रहेको बताउनुभयो । उहाँले प्राविधिक खटिनु भन्दा अघिनै निर्माण भएका लाभग्राहीलाई सामान्य सुझाव सहित रु ३ लाख रुपैया अब तत्काल वितरण गरिने पनि जानकारी दिनुभयो । उहाँले गुनासाहरुको सम्वोधन गर्नका लागि पर्वतमा संकलन भएका गुनासाहरु तत्काल राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा पठाउने र थप गुनासाहरु संकलन गर्ने, पहिलो किस्ता लिएकालाई दोस्रो किस्ता र दोस्रो किस्ता लिएकालाई तेस्रो किस्ता लिनका लागि ताकेता गर्ने काम भैरहेको उहाँको भनाई रहेको थियो ।

कार्यक्रममा सांसद पदम गिरी, प्रदेश सभा सदस्य ललितकला गुरुङ्ग, जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहरबी पौडेल, सातवटै स्थानीय तहका जनप्रतिनिधि र प्राविधकहरुको सहभागिता रहेको थियो ।