पर्वत/विद्यालयहरूमा घटस्थापनादेखि सुरु भएको दशैँ बिदा १५ दिनसम्म कायम रहन्छ । लामो बिदामा रहँदा उनीहरूमा पाठ्यक्रमभित्रको सिकाइको अभ्यास कम हुने गर्छ । दशैँ मनाउन गाउँ पुगेका बालबालिकाहरुले ग्रामीण क्षेत्रको भोगाइको अनुभव गर्न पाए पनि पाठ्यक्रमका कुरा चटक्कै छाड्दा सिकाइमा केही असर पुग्न सक्छ । तर एकीकृत सेवा कार्यालय पर्वतले भने दशैँ बिदामा रहेका बालबालिकाहरूको अध्ययनमा कमी हुन नदिनको लागि गृहकार्य दिएको छ ।
कार्यालय प्रमुख जीवन पौडेलका अनुसार विद्यार्थीहरूले फुर्सदको समयमा सिर्जनात्मक लेखाइ र चित्रहरू बनाएर समय उपयोग गर्न पाउने भएका छन् । विद्यार्थीमा अन्तर्निहित प्रतिभाको पहिचान, सिर्जनात्मक सोचको विकास तथा लेखन र कलामार्फत आफ्ना विचार अभिव्यक्त गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बिदा पश्चात् कार्तिक १७ गते जिल्ला स्तरीय सिर्जनात्मक लेखन र चित्रकला प्रतियोगिता आयोजना गर्न लागिएको कार्यालयले जनाएको छ । विद्यालयमा छनोट हुँदै स्थानीय तहमा प्रतिस्पर्धा गरेर विजेता बनेका विद्यार्थीहरू जिल्ला स्तरीय प्रतियोगितामा भिड्ने छन् । सात वटै स्थानीय तहबाट सिर्जनात्मक लेखन र चित्रकला विधामा उत्कृष्ट एक–एक जना विद्यार्थी सहभागी हुनेछन् ।
सिर्जनात्मक लेखन प्रतियोगिताका लागि विकास, अर्थतन्त्र, उद्योग, कृषि, पर्यटन, सुशासन, सामाजिक समस्या, वातावरण, संस्कृति, शिक्षा, विज्ञान तथा प्रविधिलगायत विविध क्षेत्र समेटिएका ३६ वटा विषय निर्धारण गरिएका छन् । विद्यार्थीले गण्डकी प्रदेशको विकासका सम्भावना र चुनौती, विकासका पूर्वाधारको अवस्था, समृद्ध नेपाली अर्थतन्त्रका आधार, उत्पादनशील उद्योगको पुनर्जागरण, जलविद्युत् उत्पादनका सम्भावना तथा चुनौती र कृषिको आधुनिकीकरण तथा औद्योगिकीकरणजस्ता आर्थिक विकाससँग सम्बन्धित विषयमा आफ्ना विचार प्रस्तुत गर्न सक्नेछन् ।
त्यसै गरी, साना तथा मझौला उद्योग र आयआर्जन, गण्डकी प्रदेशमा पर्यटन उद्योगको सम्भावना तथा चुनौती, वैदेशिक व्यापारका सम्भावना र चुनौती तथा वैदेशिक रोजगारीको अवस्था र चुनौती पनि लेखनका विषयमा समेटिएका छन् । यी विषयले विद्यार्थीलाई प्रदेशको आर्थिक विकास, रोजगारी सिर्जना, उत्पादन वृद्धि र स्थानीय स्रोतसाधनको उपयोगबारे सोच्न प्रेरित गर्ने अपेक्षा गरिएको कार्यालय प्रमुख पौडेलले बताए ।
राजनीतिक तथा सामाजिक पक्षअन्तर्गत नेपालको संविधान र नागरिकको कर्तव्य, सङ्घीय संरचना र दिगोपनका चुनौती, गण्डकी प्रदेशमा बसाइसराइको अवस्था, सुशासन र विकास प्रक्रियामा यसको प्रभाव, सुशासन कायम गर्न नागरिकको भूमिका तथा सामाजिक समस्याहरू र समाधानका उपाय समावेश गरिएका छन् । छिटो विवाहका कारण उत्पन्न हुने भविष्यका चुनौती, विपद्का कारण तथा असर र न्यूनीकरणका उपाय, सांस्कृतिक विविधता र संरक्षणका चुनौती, नेपाली समाजको विशेषता तथा अनेकतामा एकता, धार्मिक सहिष्णुता र हाम्रो कर्तव्यजस्ता विषयमा पनि विद्यार्थीले आफ्नो दृष्टिकोण प्रस्तुत गर्न पाउनेछन् ।
त्यस्तै, विकास प्रक्रियामा सामाजिक सङ्घसंस्थाको भूमिका, नेपालको विकास र रूपान्तरणमा सहिदहरूको योगदान, साइबर अपराध नियन्त्रणमा नागरिक र सुरक्षा निकायको भूमिका, नसर्ने रोगका चुनौती तथा स्वस्थ जीवनका लागि योग र ध्यानलाई पनि लेखनको विषय बनाइएको छ । हाम्रा धार्मिक तथा सांस्कृतिक सम्पदा र आफ्नो जिम्मेवारी, ज्येष्ठ नागरिकप्रति व्यक्ति तथा सरकारको भूमिका र वातावरण संरक्षणमा आफ्नो दायित्वजस्ता विषयले विद्यार्थीमा सामाजिक उत्तरदायित्व र नागरिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने छ ।
शैक्षिक तथा प्रविधिसम्बन्धी विषयमा विद्यालयमा उपलब्ध प्रयोगशाला र प्रयोगको अवस्था, सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग, विद्यालय शिक्षामा परीक्षा प्रणाली र नतिजा प्रकाशन, गुणस्तरीय शिक्षामा अभिभावकको भूमिका, विकास प्रक्रियामा विज्ञान तथा प्रविधिको प्रयोग तथा सृजनशील विद्यार्थी, शिक्षक र गुणस्तरीय शिक्षालाई समावेश गरिएको छ । यी विषयले विद्यार्थीलाई आफ्नो विद्यालयको शैक्षिक अवस्था विश्लेषण गर्न, सिकाइमा देखिएका चुनौती पहिचान गर्न र सुधारका उपाय प्रस्तुत गर्न अवसर दिनेछन् ।
प्रतियोगितामा सहभागी विद्यार्थीले निर्धारण गरिएका विषयमध्ये चिट्ठा प्रक्रियाबाट छनोट भएको शीर्षकमा लेख तयार गर्नुपर्नेछ । मूल्याङ्कन समितिका संयोजकले प्रतियोगिता सुरु हुनुभन्दा पाँच मिनेटअघि सबै प्रतियोगीले देख्ने गरी शीर्षक निर्धारण गर्ने व्यवस्था गरिएको छ । लेखनका लागि दुई घण्टाको समय दिइनेछ । विषयवस्तु र सान्दर्भिकता, संरचना र क्रमबद्धता, विश्लेषण तथा तर्क, मौलिकता र सृजनशीलता, भाषा र अभिव्यक्ति तथा निष्कर्षका आधारमा कुल १०० अङ्कमा मूल्याङ्कन हुने छ ।
सिर्जनात्मक लेखनसँगै सञ्चालन हुने चित्रकला प्रतियोगितामा विद्यार्थीले निर्धारित मूल विषयमा आधारित रहेर आफूलाई उपयुक्त लागेको माध्यमबाट चित्र बनाउन सक्नेछन् । चित्र बनाउन दुई घण्टाको समय दिइनेछ । चित्रको शिल्प, मौलिकता, रङ तथा चित्र संयोजन, शीर्षकसँगको सान्दर्भिकता र माध्यम छनोटका आधारमा समान २०–२० अङ्क प्रदान गरिनेछ ।
चित्र बनाउन आवश्यक कागज वा क्यानभास, रङलगायतका सामग्री प्रतियोगी आफैँले ल्याउनुपर्नेछ ।‘दशैँ बिदालाई नियमित गृहकार्यमा मात्रै सीमित नराखी सिर्जनात्मक अभ्यास, प्रतिभा पहिचान र व्यावहारिक सिकाइसँग जोड्ने यस कार्यक्रमले विद्यार्थीमा लेखनकला, कल्पनाशीलता, विश्लेषणात्मक क्षमता, कलात्मक अभिव्यक्ति र सामाजिक चेतना विकास गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ’, कार्यालय प्रमुख पौडेलले भने, ‘स्थानीय तह र विद्यालयबिचको समन्वयबाट जिल्लामा लुकेर रहेका प्रतिभालाई पहिचान गरी उनीहरूलाई थप अवसर र प्रोत्साहन प्रदान गर्न सकिन्छ भन्ने लागेको छ । विद्यालयले दिएको गृहकार्य बाहेक हामीले दिएको कामले फरक सिकाई र फरक आकर्षण दिन सक्छ ।
’दुवै विधामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट हुने विद्यार्थीले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजना हुने गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने अवसरसमेत प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीको नाम दर्ता गर्ने अन्तिम आगामी कात्तिक १७ गते तोकिएको छ । स्थानीय तहबाट छनोट भएका विद्यार्थीको विवरण कार्यालयको इमेलमा पठाउन सक्नेछन् ।





