पर्वत/ विनियोजन विधेयक २०८३ अनुसार परिवर्तित कर र लामो समयदेखि निष्क्रिय रहेका ‘फर्म’हरुले पाउन लागेको छुटका विषयमा पर्वतमा अन्तरक्रिया भएको छ। आन्तरिक राजश्व कार्यालय बागलुङ र पर्वत उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा शनिवार उद्योग वाणिज्य सङ्घको सभा हल कुश्मामा कार्यक्रमको आयोजना भएको हो । कार्यक्रममा व्यवसायीहरूसँग आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवाल, कर अधिकृत राजनमणि शर्मा र राजन सापकोटाले सहजीकरण गरे । सो अवसरमा उनीहरूले नयाँ आर्थिक सुरु भएसँगै व्यवसायीहरूले खाता तथा व्यवसाय सञ्चालनमा पालना गर्नुपर्ने मापदण्ड, कर चुक्ता र निष्क्रिय रहेका ‘फर्म’ हरुले यस पटक पाउन लागेको छुटको विशेष मौकाको बारेमा बताएका छन् ।
प्रमुख कर अधिकृत सिलवालले यस पटक सरकारले लामो समयदेखि विभिन्न कारणले निष्क्रिय अवस्थामा रहेका व्यवसायको अद्यावधिक गर्नका लागि राज्यले दिएको मौकाको सदुपयोग गर्न अनुरोध गरे । नियमित सञ्चालनमा रहेका व्यवसायीहरू अद्यावधिक हुने भए पनि ‘फर्म’ सुरु गरेर बिचैमा छाडेका, ‘फर्म’ बन्द नगरी लामो समयदेखि अन्य पेसा वा वैदेशिक रोजगारीमा रहेका, करको विषयमा कम जानकारी भएका कारण व्यवसाय बन्द भए पनि दर्ता खारेजी नगरेकाहरूले यस पटक निकै सुलभ मौका पाउन लागेको उल्लेख गरे ।
‘हामीकहाँ हालै मात्र एक जना व्यवसायी आउनुभयो जसले केही वर्ष पहिले नै प्यानमा कारोबार गर्नुभयो । त्यो व्यवसाय छोडेर कतै जानुभयो । अहिले पुनः अर्को व्यवसाय थालेपछि उहाँको पहिले नै सक्रिय भएको प्यान देखियो’, उनले भने, ‘हालसम्मको हिसाब गर्दा उहाँले करिब ४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने थियो । तर अहिलेको विशेष अवसरमा उहाँले ४ हजार रुपैयाँ मात्रै तिरेर प्यानलाई निरन्तरता दिनुभयो । यो काम अहिले नभएर पुसपछि गर्नुभएको भए ४ लाख नै तिर्नुपर्ने हुन सक्थ्यो ।’चालु आर्थिक वर्षमा एक पटकमा २५ हजार रुपैयाँ भन्दा बढीको भुक्तानी अनिवार्य रूपमा ‘बैङ्किङ’ प्रणालीमार्फत गरिएको हुनुपर्ने, ५ लाखसम्मको कृषि पुरस्कारमा आकस्मिक लाभ कर नलाग्ने लगायत परिवर्तित करको बारेमा सिलवालले सहभागीहरूलाई बताए ।
यस्तै कर अधिकृत शर्मा र सापकोटाले कोभिड-१९, विपद्, जेन्जी आन्दोलन, व्यावसायिक बिमा नभएकाहरूको लागि आएको अवसरको सदुपयोगको आह्वान गरे । १०/२० वर्षदेखि खारेजी नगरी अलपत्र अवस्थामा छाडिएका ‘फर्म’हरूलाई निरन्तरता दिन वा बन्द गर्न यस पटक सरकारले निकै महत्वका साथ योजना कार्यान्वयन गरिरहेको बताए ।कार्यक्रममा सहभागी व्यवसायीहरूले आफूहरूले भोगिरहेका करसम्बन्धी समस्याहरू राजश्व कार्यालयका अधिकारीहरूसँग राखेका छन् । उनीहरूले केही विषयहरू कार्यालयबाट नै समाधान हुने खालका भए पनि केही विषयहरू भने राज्यको नीतिगत तहबाट गरिनुपर्ने अवस्थाका देखिएका छन् ।
केही व्यवसायीहरूले भने लामो समयदेखि कर नतिर्ने र ‘फर्म’ पनि बन्द नगरेकाहरूलाई छुटको अवसर दिने गरेको भए पनि नियमित रूपमा स्वतःस्फूर्त रूपमा कर चुक्ता र व्यवसाय अद्यावधिकको काम गर्नेहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू राज्यको तर्फबाट आउन नसकेको गुनासो गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले अलपत्र अवस्थामा रहेका व्यवसायीहरूलाई राज्यको नीतिमा सहभागी गराउनकै लागि बेलाबेलामा छुटका अवसरहरू आउने उल्लेख गरे ।नियमित रूपमा कर तिरेर असल नागरिक भएर निर्बाध रूपमा हिँड्न पाउनु सबैभन्दा ठुलो प्रोत्साहन स्वसम्मान रहेको भन्दै उनले राज्यले कुनै एक ठाउँलाई नहरेर समग्र मुलुकको अवस्थाका आधारमा नीतिहरू तय हुने र यसले कहिलेकाहीँ आफू प्रभावित भएको अनुभव व्यवसायीहरूले गरेको हुनसक्ने बताए ।राज्यले लिएको यो नीति उद्योगी व्यवसायीहरूकै माग बमोजिम भएको र यसले जानेर वा नजानेर कुर चुक्ताभन्दा बाहिर रहेका व्यवसायीहरूलाई मुक्ति दिलाउने अवसरका रूपमा आएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुर बी. पौडेल बताउँछन् ।
विभिन्न बाध्यताले बिचमै व्यवसाय बन्द गरेका तर ‘फर्म’ नै बन्द गरेको हुनुपर्छ भन्ने कुरा थाहा नपाएर पनि कोही अलपत्र अवस्थामा रहेकोले सङ्घले समय समयमा यस्तै जानकारीमूलक अन्तरक्रिया चलाउँदै आएको उनको भनाइ छ ।यस्तै सङ्घका वरिष्ठ उपाध्यक्ष कमलबहादुर जि.सी.ले विगतमा पनि विभिन्न शिविरहरू चलाउँदै आएको सङ्घले यस वर्ष जिल्लाका विभिन्न स्थानमा आन्तरिक अनुगमनको पाटोलाई नियमित रूपमा सञ्चालन गरिरहेको बताए ।सङ्घकै पदाधिकारीहरूलाई निश्चित भेग अनुसार जिम्मेवारी तोकेर व्यवसाय सञ्चालनका न्यूनतम मापदण्डको कार्यान्वयन, व्यवसाय सञ्चालनको अवस्था तथा व्यवसाय नवीकरणको बारेमा अनुगमन भइरहेको उनको भनाइ छ ।






