असार सकिनै लाग्यो: पर्वतमा जम्मा ३८ प्रतिशत रोपाईं मात्रै

पर्वत/असारको यो बेलामा कृषकहरू रोपाइका लागि खेतका गरा गरामा हुनुपर्ने हो । रोपाइको माचोले बेफुर्सदे बन्दा ‘लास छोपेर मेलामा जाने’ लोकोक्ति गाउँघरमा सुन्न पाइन्छ । तर यही बेलामा पर्याप्त वर्षा नहुँदा जिल्लाका कृषकहरू भने घरमै बस्न बाध्य भएका छन् । लगातारको वर्षाका कारण खेतका कान्लामा मूल उठ्ने र रोपाइका लागि पानी प्रशस्त हुने गरेको भए पनि यस वर्ष असार सकिनै लाग्दा पनि खेतमा मकैका डाँठ काटिएका छैनन् । दिउँसोका समयमा फाटफुट रूपमा सामान्य वर्षा भएको भए पनि रोपाइ हुनको लागि खेतका गरामा पानी अडिने गरी वर्षा नहुँदा वर्षाको पानी र बर्षे मूलमा निर्भर हुनुपर्ने खेतमा रोपाई हुन नसकेको हो ।

सिंचाइको सुविधा भएका तथा खोला आसपासका क्षेत्रमा रोपाइ चलिरहेको भए पनि मुख्य खेतमा भने रोपाई चल्न नसकेको फलेवास नगरपालिका–३ शंकरपोखरीका कृषक रत्नबहादुर थापाले बताए । केही वर्ष पहिलेसम्म असारको बेलामा नियमित वर्षा हुने, रोपाइ भएका गराबाट सभा चलेका दृश्य सबेरै देख्न पाइने गरेको भए पनि पछिल्ला वर्षहरूमा पनि वर्षा अनियमित भएको उनले सुनाए ।‘अल्लि वर्ष पहिलासम्म रातभर पानी परेर कसरी जोगिने होला? भन्ने हुन्थ्यो । बिहान उठेर खेतमा गर्दा गरा गरामा सभा चलिरहेको हुन्थ्यो’, उनले भने, ‘खै अहिले त पानी नपरेपछि खेतका डाँठ पन्छाउन पनि हतार गरिएको छैन । पानी नपर्दा गर्मी उस्तै छ, दिउँसोमा बाहिर निस्केर काम गर्न पनि मुस्किल परेको छ ।’ मौका छोपेर रोपिएका खेतका गरामा सिचाइ हुन नपाउँदा गाउँका कतिपय व्यक्तिहरूले खानेपानीको धारामा आएको पानीले सिचाइ गर्ने गरेको थापाले बताए ।

कृषि विकास कार्यालय पर्वतकी बाली संरक्षण अधिकृत सोबिता सुवेदीले हालसम्म जिल्लाभरमा करिब ३८ प्रतिशत रोपाइ पूरा भएको बताइन् । चालु आर्थिक वर्षमा जिल्लाभरमा करिब ७ हजार १ सय ६० हेक्टर क्षेत्रफल खेतमा रोपाइ हुने अनुमान गरिएकोमा हालसम्म २ हजार ७ सय २० हेक्टर क्षेत्रफलमा मात्रै रोपाइ भएको छ ।स्थानीय तहको तथ्याङ्क अनुसार सबैभन्दा बढी जलजला गाउँपालिकामा १९.४० प्रतिशत रोपाइ भएको छ भने सबैभन्दा थोरै महाशिला गाउँपालिकामा ११.५३ प्रतिशत रोपाइ सकिएको छ । यस्तै कुश्मा नगरपालिकामा १६.४४, फलेवास नगरपालिकामा १८.८३, मोदी गाउँपालिकामा १२.३३, बिहादी गाउँपालिकामा १२.३८ र पैयुँ गाउँपालिकामा १६ प्रतिशत रोपाइ भएको छ ।

पर्वतमा धान उत्पादन हुने प्रमुख स्थानहरू कुश्मा नगरपालिकाको वडा नं. ११, १२, १३ र १४, फलेवास नगरपालिकाका ३, ६, ७ र ८, मोदी गाउँपालिकाका २ र ५, जलजला गाउँपालिकाका ४, ५, ६, ७ र ८, महाशिला गाउँपालिकाका २ र ५, बिहादी गाउँपालिकाका १, २ र ३ तथा पैयुँ गाउँपालिकाका २, ४, ५ र ७ हुन् ।पर्वतमा मुख्य गरी झिनुवा, गुडुरा, च्याम्पियन, यु.एस.३१२, चैते–५, एक्ले, छेमरोङ, खुमलटार, गौरिया, गुडुरा, मार्सी, पहेँले, जर्नेलीसहित केही स्थानीय जातका धान रोप्ने गरिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार पर्वतमा करिब २८ हजार खेतीयोग्य जमिनमध्ये करिब ७ हजार २ सय हेक्टरमा धान खेती हुने गरेको छ । जसबाट २० हजार ५ सय २० मेट्रिक टन उत्पादन हुन्छ ।

पर्वतमा मुख्य बालीको रूपमा चिनिने धान बालीको उत्पादन भने प्रत्येक वर्ष घट्दै जाने देखिएको छ । तत्कालीन कृषि ज्ञान केन्द्र कार्यालय पर्वतले २०७७ सालमा सार्वजनिक गरेको तथ्याङ्कमा जिल्लामा नौ हजार ७० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको भनिएको थियो । जबकि यस वर्ष ७ हजार १ सय ६० हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइ हुने अनुमान गरिएको छ ।