पर्वत/बिहादी गाउँपालिकाले दलित समुदायको हक, अधिकार, सशक्तीकरण तथा स्थानीय तहबाट उपलब्ध हुने सेवा–सुविधाबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको ‘दलित समुदायका लागि सचेतनामूलक तथा क्षमता विकास कार्यक्रम’ गाउँपालिकाका सबै ६ वटै वडामा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष परवीन गुरुङ र उपाध्यक्ष मिना तिवारीले दलित समुदायको सामाजिक, आर्थिक तथा राजनीतिक सशक्तीकरण स्थानीय सरकारको प्राथमिकता रहेको बताउँदै संविधानले सुनिश्चित गरेका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि गाउँपालिका प्रतिबद्ध रहेको धारणा राख्नुभयो। उहाँहरूले दलित लक्षित कार्यक्रमलाई केवल बजेट खर्च गर्ने माध्यमका रूपमा नभई समुदायको वास्तविक क्षमता विकास र आत्मनिर्भरता अभिवृद्धि गर्ने अभियानका रूपमा अघि बढाइएको उल्लेख गर्नुभयो।
कार्यक्रमको उद्देश्य र सञ्चालन प्रक्रियाबारे वकालत मिडिया प्रालिका कार्यक्रम संयोजक साजन परियारले जानकारी गराउँदै दलित समुदायलाई कानुनी अधिकार, स्थानीय तहबाट प्राप्त हुने सेवा, सहभागिता, सामाजिक न्याय तथा अवसरहरूको प्रभावकारी उपयोगबारे सचेत बनाउने लक्ष्य रहेको बताउनुभयो।
सहजीकरण कुशल सञ्चारकर्मी दीपेश बि. पोख्रेल र लक्ष्मण बिसीले गर्नुभएको थियो। सहजीकरणका क्रममा संविधानले प्रत्याभूत गरेका दलित अधिकार, विभेद अन्त्य, शिक्षा, रोजगारी, सामाजिक सुरक्षा, निर्णय प्रक्रियामा सहभागिता तथा स्थानीय सरकारले सञ्चालन गर्नुपर्ने दलित लक्षित कार्यक्रमका विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले स्थानीय सरकारले दलित समुदायको आयआर्जन, सीप विकास, शिक्षा, उद्यमशीलता, सामाजिक समावेशीकरण तथा विभेद न्यूनीकरणमा अझ प्रभावकारी योजना सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए।
बिहादी गाउँपालिकाले दलित लक्षित कार्यक्रमलाई सबै ६ वटै वडामा विस्तार गरी प्रत्यक्ष समुदायसम्म पुर्याएको अभ्यासलाई स्थानीय सरकारको समावेशी विकास र सामाजिक न्यायप्रतिको प्रतिबद्धताको उदाहरणका रूपमा हेरिएको छ। यस प्रकारका कार्यक्रमले समुदायमा अधिकारप्रति जागरण, आत्मविश्वास अभिवृद्धि र स्थानीय सरकारसँगको सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।






